काठमाडौं। नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनिक भएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो।

उक्त गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ। बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचरिङ रहेको छ। बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमील जोडीको प्रेमाभाव प्रस्तुत भएको छ।

एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ।

सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन्। महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन्।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा-सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्। राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन्। आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ।

प्रकाशन मिति–२०७८ साल फागुन २५ गते बुधवार ।