काठमाडौ। नेपालमा सञ्चालित बालगृहलाई सहयोग जुटाउन बेलायतका नेपाली युवाहरुको एक समूह लन्डन देखि पेरिससम्मको साइकलयात्रामा निस्किएको छ।

हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार) क्लबआबद्ध सात युवाले शुक्रबार बिहान लन्डनबाट पेरिससम्मको साइकलयात्रा शुरु गरेका हुन्।

हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, सुलभ पन्त, सुशील प्रसाईं, सुनिल कार्की, मनोज श्रेष्ठ र हेल्लो जिन्दगीका नायक विक्रमदास जोशी साइकलयात्रामा छन्।
लन्डनदेखि पेरिससम्मको २ सय ४५ माइल दूरी आइतबार दिउँसोसम्म पूरा गर्ने ती साइकल यात्रीहरुको लक्ष्य छ। जसका लागि दैनिक ६ देखि ८ घण्टासम्म साइकिलिङ गर्ने उनीहरुले योजना बनाइएको छ। लन्डनको आइकोनिक लन्डन ब्रीजबाट शुरु भएको साइकलयात्रा पेरिसस्थित विश्वविख्यात आइफेल टावर पुगेर समापन हुनेछ।

साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको एक बालगृहलाई सहयोग गरिने हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रदिप पनेरुले बताए । सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिकाले आश्रय पाएका छन्।

साइकलयात्रीहरुले ५ हजार पाउन्ड (करिब ८ लाख रुपैँया) जुटाउने लक्ष्य लिएका छन्। साइकलयात्रा शुरु हुनुपूर्व नै ४ हजार पाउन्ड बढी रकम संकलन भइसकेको छ। अहिले पनि ‘जस्टगिभिङ’ मार्फत् सहयोग संकलन जारी छ ।

संकलित रकमबाट कुनै खर्च नकटाएर पूरै बाल गृहलाई प्रदान गरिने र साइकलयात्रीहरुले आफ्नो खर्च आफै व्यहोर्ने स्पष्ट पारेका छन्।

प्रकाशन मिति–२०७९ साल जेठ ६ गते शुक्रवार ।