काठमाडौं। अमेरिकाको लामो प्रवास बसाईवाट नेपाल फर्केर नेपाली सञ्चार क्षेत्रमा सशक्त रुपमा देखिएका टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेको पनि राजनीतिमा प्रवेश भएको छ। सञ्चारकर्मवाट अलगिएर लामिछानेले अवको बाटोको रुपमा राजनीतिलाई रोजेको हो।

धेरैले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा देखा पर्ने आंकन गरिएतापनि पार्टी नै खोलेर सवैलाई तीनछक्क बनाएका छन्। फेरि पार्टीको नाम पनि राष्ट्रिय स्वतन्त्र पार्टी राखेर स्वतन्त्रवाट उम्मेदवारी घोषणा गर्नेहरुको लागि आमन्त्रण गर्न खोजेको हो कि भन्ने पनि गाइँगुइँ हल्ला नचलेको होइन।

ती हल्लाहरुभन्दा पर रहेर मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान समेत गर्न चुकेनन्। उनले पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता समेत पार्टी घोषणा कार्यक्रममा जनाएका छन्।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताए। तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको समेत उनले उल्लेख गरे। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरूबाट चन्दा नउठाउने घोषणा उनको छ। कार्यक्रममा उनले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखेका छन्।

प्रकाशन मिति–२०७९ साल असार ७ गते मंगलवार ।