काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडेर नेपाल आमाको आँशु पुछ्ने महा अभियानमा लाग्दै आएका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले नेपालका दुई मेयरको दिल खोलेर तारिफ गरेका छन्। नेपालका भारी मतले जननिर्वाचित अत्यन्त लोकप्रिय दुई मेयर बालेन शाह र हर्क साङपाङ राईको अध्यक्ष लामाले दिल खोलेर तारिफ गरेका हुन।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरमा अनाधिकृत रुपमा संरचना निर्माण गरेर अवरोध खडा गरिरहेका ठूला घरानाका साहुमहाजनका घर–तहरामा डोजर चलाउने कार्य गर्नु राम्रो कार्य हो भनेर अध्यक्ष लामाले भनेका छन्। पार्किङको स्वीकृति लिएर अवैध रुपमा पसल लगायतका संरचनावाट काठमाडौंमा पार्किङको समस्या भएको यथार्थ हो भन्दै मेयर शाहको कार्यको तारिफ गर्ने कार्य अध्यक्ष लामावाट भएको छ।

महानगरवासीको जनहितका लागि एक पछि अर्को एक्शन मेयर शाहवाट हुनु राम्रो कार्य भएको र यस्ता कार्य गर्दा मध्यम तथा निम्न वर्गका महानगरवासीलाई समस्यामा नपर्ने गरी कार्य गर्न पनि अध्यक्ष लामाले अनुरोध गरेका छन्। त्यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईले धरानवासीको हितको लागि एकपछि अर्को जनप्रिय कार्य गर्दैआएको आफू अमेरिका बसेर पनि हेर्न पाउंदा अत्यन्त खुशी लागेको अध्यक्ष लामाले भनेका छन्।

आगामी October महिनामा हामी नेपाली ग्लोबलको आयोजनमा अमेरिकाको न्यूयोर्कमा बृहत नेपाल डे मनाउने तयारीमा आफूहरु रहेको पनि अध्यक्ष लामाले जानकारी दिएका छन्। नेपालको कला–संस्कृतिको प्रवद्र्धन तथा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने र गराउने कार्यक्रमको प्रमुख उदेश्य रहेको पछि अध्यक्ष लामाको भनाई छ।

केही दिनअघि मात्र न्यूयोर्कमा नै हामी नेपाली ग्लोबलको आयोजनामा नेपालीलाई मात्र नभइकन अमेरिकी जनतालाई पनि नेपाली जनताको तर्फवाट विशेष सहयोग गर्ने कार्य भएको छ। जुन गौरबता भएको पनि अध्यक्ष लामाको जिकिर रहेको छ।
प्रकाशन मिति–२०७९ साल भाद्र ११ गते शनिवार ।