काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य बढाएको हो। निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।


नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८–७८ रुपैयाँ पुगेको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको दाबी गरे। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ। नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुनेछ। त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ।

मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाह्यमा २४ रुपैयाँ ८८ पैसा नाफा छ। खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ। डिजेल र खाना पकाउने ग्यासको विक्री अत्यधिक हुँदा पनि घाटा चुलिएको निगमले जनाएको छ।

मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँमा झर्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ। निगमले यसअघि मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो।
प्रकाशन मिति–२०७४ साल पुष ४ गते मंगलवार ।