काठमाडौं। नेपालमा फेरि मनसुनी वर्षा सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा फेरि सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधवार विहान १० बजेवाट मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ।

केही स्थानमा सिमसिमे पानी परिरहेको छ। बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ। जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। जल सतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ। यस्तै मकवानपुरमा रातिदेखि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय सडक अबरुद्ध पारेको छ।

हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाको हेटौँडा आवतजावत बन्द भएको छ। त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ। शिवम् सिमेन्टको कच्चा पदार्थ पु-याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो। गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रकाशन मिति–२०७६ साल साउन ८ गते बुधवार ।