काठमाडौं। नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भएको छ। यसैक्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ। चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना गरेको हो।


मरुढोकाबाट शुरु भएको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। मरुढोकाबाट शुरु भई चिबाखेल, कंकेश्वरी, दमाईटोल, यट्खा हुँदै मखनबाट इन्द्रचोक, नयाँ सडक, ओमबहाल, लगन, जैशीदेवल, चिकंमुगल, भिमसेनस्थान, मरुगणेश, मरुहिटी हुँदै क्लब परिसर इन्द्र सभा मार्ग पुगेर सम्पन्न भएको थियो।

सोभन्दा अघि, र्यालीको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभासद् श्रेष्ठले देशको पहिचान बचाउने यहाँका मूर्त, अमूर्त सम्पदा साथै संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।

न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनले नेपाल सम्वत राष्ट्रिय सम्वतको नारालाई व्यवहारमा उतार्नुपर्ने बताएका थिए।
कार्यक्रम संयोजक साथै क्लवका सदस्य राजन शाहीले क्लवले नेपाल सम्वत नयाँ वर्षको अवसर पारेर वर्षेनी देउसी भैली कार्यक्रम गर्दै आइरहेको भनेका छन्।

यसवर्ष देउसी भैली कार्यक्रमलाई अर्ध विराम दिएर सुकुन्दा र्यालीको आयोजना गरिएको शाहीको भनाई थियो।
प्रकाशन मिति–२०७६ साल कात्तिक १३ गते बुधलवार ।