काठमाडौं। नेपालको सशस्त्र प्रहरीमा १३ औं ब्याचका २१ जना नयाँ सशस्त्र प्रहरी निरीक्षक मंगलबारबाट थप भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षकको ५८ हप्ता लामो आधारभूत तालिम नमप्रभाव राई सहित २१ जना नयाँ सशस्त्र प्रहरी निरीक्षकहरुले मंगलवार सम्पन्न गरेको हो। तालिम संपन्न भएलगतै उनीहरूलाई कार्यक्षेत्रमा खटाइएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा संपन्न तालिमको दिक्षान्त कवाजमा तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा प्रदान गरिएको थियो। तालिममा कवाज, चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई खनालले पुरस्कृत गरेका थिए।

सशस्त्रको यो दिक्षान्त कवाज कोभिड–१९ को परिस्थितीका कारण प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति भएतापनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापा बादलवाट प्रेषित शुभकामना सन्देश वाचन गरिएको थियो।

महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ को महामारी नियन्त्रणमा सशस्त्र प्रहरी कर्मचारीहरु दृढ विश्वासकासाथ अग्रपंक्तिमा रही अहोरात्र खटिई रहेको र सोको सबै क्षेत्रबाट प्रशंसा भईरहेको बताएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललगायत उपस्थित थिए।


प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।