काठमाडौं। नेपालभाषाका म्युजिक भिडियोमा परम्परागत कला तथा संस्कृतिलाई गजबले देखाउने कार्य हुंदैआएको छ। जीवित कला–संस्कृतिलाई म्युजिक भिडियोमा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य हुंदैआएको हो।

यस कार्यवाट म्युजिक भिडियोको माध्यमवाट नेवार कला तथा संस्कृतिलाई जीवन्त वनाउने कार्य मात्र नगरिकन पछिल्लो पुस्तालाई यसको मौलिक परिचय दिने कार्य भएको छ।

यसक्रममा नेवार कला–संस्कृतिलाई लामो समय देखि संरक्षण र संवद्र्धन गर्ने–गराउने कार्यमा निरन्तर लाग्दैआएको ईलोह प्रकाशनले सार्वजनिक गरेको नेपालभाषाको पछिल्लो कलात्मक म्युजिक भिडियो छु जुल रे छु जुलमा पनि मौलिक कला–संस्कृतिले जीवन्तता पाएको छ।

ललितपुरको दक्षिण भेग स्थित रमणिय नेवार गाउँ ठेचोको परम्परागत कला तथा संस्कृतिमा खिचिएको म्युजिक भिडियोलाई जीवन्तता दिन त्यहाँस्थित सम्पदाप्रेमी नविन ठेचोमीले निक्कै साथ र सहयोग गरेको जानकारी आयोजक ईलोह प्रकाशनले जनाएको छ।

नेपालभाषाका युगिन गायिका रत्नशोभा महर्जनको गायन, जीवित जल्मीको संगीत तथा दर्शनबीर शाक्यको गीत रहेको यस गीतको भिडियोमा एकतर्फी माया गर्ने प्रेमिकाले प्रेमीलाई देख्दा उनमा देखिएको विविध तरंगलाई कलात्मक रुपमा प्रस्तुत गर्ने कार्यमा छायाँकार तथा सम्पादक मनोजरत्न शाही देखि निर्देशक राजन शाहीसम्मको कडा मेहनत देखिएको छ।

नायिका रविना तुलाधरको विविध कटाक्षपूर्ण हाउभाउ तथा स्वभाविक अभिनयमा नेपालभाषाका सुपरस्टार रुपेन्द्र श्रेष्ठको जीवन्त अभिनयले सजिएको यस गीतको भिडियोमा स्थानीय ३० भन्दा बढी कलाकारहरुको भीड पनि हेर्न पाइन्छ। नानीमैया तुलाधर, राजेश महर्जन निर्माता रहेको यस गीतको भिडियोलाई निर्माण गर्न पूरापूर पाँच दिन लागेको निर्माण पक्षले जनाएको छ।

मंगलवार आयोजित यस गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रममा नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर देखि आयोजक ईलोह प्रकाशनका प्रमुख तथा नेपालभाषा आन्दोलनका प्रणेता नरेशवीर शाक्यसम्मले गीतको भिडियोको आवश्यकता र महत्वका वारेमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७७ साल असोज २७ गते मंगलवार ।