काठमाडौं। नेपालमा कोरोना संक्रमण अलि ढिला शुरु भएतापनि हाल क्रमिक रुपमा फैलिदै गएको परिप्रेक्ष्यमा यसको नियन्त्रण गर्ने व्यवस्थापिकीय, नीतिगत, चिकित्सा तथा अन्य क्षेत्रवाट सफल प्रयोग गर्न सक्ने विधिका विषयमा इजरायलवाट व्यापक छलफल भएको छ।

सापेक्षिक रुपमा कोरोना संक्रमण नेपालमा भन्दा केही समय अगाडि शुरु भएको र हाल कोरोनाको संक्रमणलाई धेरै हदसम्म नियन्त्रण गर्न सफल इजरायलवाट कोरोना संक्रमण नियन्त्रणका सफल प्रयोग तथा भूलहरुवाट धेरै कुरा सिक्न सक्ने तथ्यलाई मध्यनजर गरेर छलफल भएको हो।

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल तथा नेतृत्वमा यस संवन्धमा भर्चुअल छलफल गरिएको थियो। आज बुधवार भएको बृहत भर्चुअल छलफल कार्यक्रममा स्वागत गर्दै राजदूत डा.अञ्जान शाक्यले वर्तमान विशेष परिस्थितिमा नेपाल र इजरायलका चिकित्सकहरु वीचको सहकार्यलाई घनिभूत बनाउन नेपाल–इजरायल कोरोना संक्रमण व्यवस्थापन समूह गठन गर्दा प्रभावकारी हुने विचार व्यक्त गरेकी छन्।

नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले राम्रो शुरुवातको कार्य भन्द्रै सराहना गर्दै यसको निरन्तरताको कामन गरेका छन्। उक्त कार्यक्रममा नेपालवाट स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक श्री रोशनी लक्ष्मी तुइ तुइ, शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालबाट डा. अनुप बास्तोला, नेपाल मेडिकल काउन्सिलबाट प्राध्यापक डा.भगवान कोइराला, भेरी अस्पताल नेपालगन्ज, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्ला, सेती अस्पताल, कैलाली , पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलगायतका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुरचिकित्सा अधिकारीहरु तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, स्वास्थ्य पत्रकारहरु, जनस्वास्थ्यविज्ञहरु, चिकित्सा अधिकारी सहितको सहभागिता रहेको थियो।

त्यस्तै इजरायलवाट प्रो.डा.इलि स्चवार्टज र प्रो.डा.मिचेल एल अलकल गरी ६० जनाको उपस्थिति रहेको थियो। नेपाली पक्षले कोरोना संक्रमण संवन्धी वर्तमान स्थितिको समस्या तथा अन्य जिज्ञासाहरु राखेको थियो। इजरायली डाक्टरहरुले आफ्नो अनुभववाट गर्न मिल्ने, गर्नपर्ने र गर्न नहुने विषयहरुमा राय प्रस्तुत गरेका थिए। एक घण्टाका लागि भनेर गरिएको भर्चुअल छलफल कार्यक्रम करिब दुई घण्टासम्म चलेको थियो।

जनस्वास्थ्य विभाग, धुलिखेल अस्पतालका सह–प्राध्यापक डा.बिराजमान कर्माचार्यले सञ्चालन गरेको उक्त कार्यक्रम अत्यन्त फलदायी भएको ठहर गर्दै निरन्तरताका लागि आपसी सहकार्य बढाउने सहमति सहित समापन गरिएको थियो। इजरायली डाक्टरहरुसंग समन्वय गर्न सघाउने नेपालकी साथी, इजरायली आर्टिटेक्ट डा.अदा गणसचले गरेकी थिइन्। उनीप्रति इजरायलका लागि नेपाली राजदूतावासले आभार प्रकट गरेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ १४ गते बुधवार ।