काठमाडौं। नेपालको इतिहासमा गौरबशाली इतिहास कायम भएको छ। नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि बेग्लै गौरबशाली इतिहास कायम भएको हो।

निशान छापमा नेपालको नयाँ संशोधित अध्यावधिक नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले शनिवार पारित भएपछि यो गौरबशाली इतिहासको रचना भएको हो।

संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए।

प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ। ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए। उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए।

मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन्। भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नयाँ नक्सा जारी गरेर राखेको थियो। नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो।

उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो। जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो। भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो।
प्रकाशन मिति–२०७७ साल जेठ ३१ गते शनिवार ।