काठमाडौं। अमेरिकामा नेपाली खगोलशास्त्री प्रज्ज्वल निरौलाले अर्को ग्रह पत्ता लगाएका छन्। नेपाली खगोलशास्त्री निरौला सम्मिलित अनुसन्धानकर्ता समूहले अमेरिकामा पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको हो।

काठमाडौं मैतीदेवीका २८ वर्षीय युवा प्रज्वल निरौला यतिखेर अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका छन्। पृथ्वी जस्तै अर्को नयाँ ग्रह पत्ता लगाउन निरौलाको समूहमा प्रमुख भूमिका रहेको जनाइएको छ।

सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेल्जिय, बेलायत, स्विजरल्याण्डलगायत मुलुकका २८ जना अनुसन्धानकर्ताको टोली खटिएको थियो। उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको थियो। यो ग्रहलाई अमेरिकी अन्तरिक्ष श्रेत्र नासाले समेत मान्यता दिएको छ।

निरौलाले नयाँ ग्रहको खोज र विशेषताहरुको अध्ययन गर्दै आएका छन्। उनका अनुसार यो ग्रह स्पेकुलस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो। यस ग्रहको नाम के२–३१५बी राखिएको छ । के२–३१५बी नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२–३१५बी राखिएको निरौलाले बताएका छन्।

निरौलाकाअनुसार यो ग्रह पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा छ। यसमा अत्यधिक १८५ डिग्री तापक्रम रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनको भनाई रहेको छ। 
प्रकाशन मिति–२०७७ साल असोज ११ गते आइतवार ।