विदेशीसंग विवाह गर्न जात नचाहिने–नेपाली नेपालीवीच विवाह गर्न जात चाहिने विडम्वना

0
2439

–सुजना बर्देवा
काठमाडौँ। मानबमा जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो। जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुव्र्यवहार गर्नु नै छुवाछूत हो। यो सामाजिक अपराध हो।

जातिय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादा विरुद्धको कसुर हो । सामान्ती राज्य सत्ताका कारण एउटै मानव जाति माथि शोषण, दमन गरी आफ्नो राज्यसत्ता टिकाई राख्ने उद्देश्यले विभिन्न जातजातिको नामकरण गरिएको छ। पेशाकै आधारमा उचो निचो जाति बनाए।

सुन–फलामको काम गर्नेलाई कामि, सुनार, लुवार तथा लुगा सिलाउने, बाजा बजाउनेलार्इ दमाई र जुत्ता सिलाउनेलाइ सार्की भन्ने जस्तै काम र पेशाको अनुसार जाति बनाई अछुत जातिको घोषण गरी जातीय छुवाछुत तथा विभेदलाई बढावा दिएका छन्। मानब प्रजातिलाइ जातमा बर्गिकरण गरेर भेदभाब गर्ने कुसंस्कारको कारणले गर्दा अहिले सम्म पनि हामीले छुवाछुत प्रथा भोग्दै आएका छौ।

नेपालको संविधान र कानुनमा छुवाछुत गर्नु सामाजिक अपराध हो भनि घोषण गरिएपनि छुवाछुत र दलित माथिको उत्पीडन तथा भेदभाव हटेको छैन्। सैदान्तिक हिसाबले छुवाछुत र जातिय भेदभाव बिरुद्ध विभिन्न कालखण्डमा सरकारहरुले धेरै थोरै बोले पनि कार्यन्वयन निकाय कमजोर हुँदा ब्यबहारिक रुप दिन सकेनन। फेरिपनि उत्पीडन रोकिएको छैन्।

अझै भन्नु पर्दा संबिधानको खोष्टामा जे जस्तो लेखेको भएपनि, गणतन्त्र नेपालले अझै पनि छुवाछुत भेदभाब काँधमा बोकेर हिडिरहेको छ। गलत सामाजिक भेदभाव विरुद्ध कानुनि प्रावधान बलियो बनाईसकेको भएपनि लागु हुुन सकेको छैन। दलित माथिको अन्याय अत्याचार, छुवाछुत, भेदभाव र गलत संस्कृतिका विरुद्ध जनचेतना फैलाउन अनिवार्य छ । हामी सबै जागरुक भएर एकजुट हुन आबश्यक भएको छ।

२१औं शताब्दी र गणतन्त्र मुलुकका दलित समुदाय उस्तै उत्पीडनबाट मुक्ति पाउन सकेका छैनन्। देशमा दलित माथिको छुवाछुत, भेदभाव जारी छ। राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उत्पीडन बढदो छ। दलित समुदायलाई सत्तामा पुग्ने भय्याङ्ग बनाईएको छ। दलित माथि कुटपिट, भेदभाव, हत्या हिंसाका घटनाहरु दलित समुदाय माथि धेरै भएका छन्। दोषी माथि कडा भन्दा कडा कार्वाही गरि पिडितलाई न्याय दिईने कुरामा समेत राज्य चुकेको छ।

कुसंस्कारको हटाउन राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको पूर्ण कार्यान्वयनमा जोड दिनुका साथै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नुपर्छ। समाजमा सबैलाई समान व्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलन जस्ता कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ। जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नितान्त आवश्यक छ।

बिदेशीसंग हाम्रा छोरा, छोरी बिहे गर्दिनको लागि जात धर्म वर्ग आबश्यक पर्दैन। तर, नेपाली नेपाली बीच विवाह गर्न हाम्रो लागि जात तगारो बन्छ। हामी अर्को धर्मका बिदेशीलार्इ खुशी खुशी घर भित्र्याउन, हाम्रा मन्दिर, कुल देवता, चुलो चौकामा लान सक्छौ तर तथाकथित दलितलाइ भेदभाब गर्छौं। हामी नेपाली कुन संस्कारमा छौं, सोच्नु पर्ने समय आएको छ।

हामी कामीले बनाएको भाँडामा खाना बनाउछौं, कामीले बनाएको गहना लगाएर सजिञ्छौं, कामीले बनाएको मूर्तिलाई पूजा गरेर धर्म कमाउछौं, दमाइले सिलाएको कपडा लगाएर आफ्नो शरीर ढाक्छौं, दमाइले बजाएको बाँजामा नाच्छौ भने सार्कीले सिलाएको जुत्ता लगाएर हिड्ने गर्छौ।

उनीहरुको सीप चल्ने, पौरख चल्ने तर पानी नचल्ने आखिर किन ? जातिय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ। समयसंगै धेरै कुरा परिबर्तन भयो। तर नेपाली सोचमा कहिले परिबर्तन आएन। अझ कति तथाकथित दलितले जातको आधारमा ज्यानको बलिदान दिनुपर्ने हो थाहा छैन!


(लेखिका सुजना बर्देवा मोडल तथा सौन्दर्यकर्मी हुनुहुन्छ।)
प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।