काठमाडौं। चीनको केन्द्रिय टेलिभिजन (सिसिटिभी)ले सन् १९८६ सालमा निर्माण गरेको पश्चिमतिरको यात्रा नामक टेलिसिरियल नेपाली भाषामा तयार भएको छ। यस धारावाहिक टेलिसिरियलको गत दुईबर्षदेखि नेपालमण्डल टेलिभिजनवाट प्रसारण भैरहेकोमा यो हप्तवाट इन्डिजिनियस टेलिभिजनवाट समेत प्रसारण हुने भएको छ।

शताव्दी पुरुष तथा बरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशीले बुधवार काठमाडौंको अनामनगर स्थित तमु बौद्ध समितिको सभाकक्षमा यस धारावाहिकको स्वीचअन गरेर प्रसारण आरम्भ भएको घोषणा गरिएको थियो। चार सय बर्ष पुरानो चीनिया उपन्यासमा आधारित धारावाहिक चीनिया सिरियल नेपाली भाषामा समेत प्रसारण हुंदा चीनिया यथावस्तु जस्ताको तस्तै नेपाली भाषामा हेर्न पाउने भएको छ।

चीनिया प्रसिद्ध बौद्धभिक्षु स्थ्वीयान चाङ (हुएन साङ्) चाीनवाट भारतको नालन्दा विश्वविद्यालयमा अध्ययन गर्न जाँदाको ऐतिहासिक यात्रा मुख्य विषयवस्तु रहेको धारावाहिक सिरियल पश्चिमतिरको यात्रा जम्मा–जम्मी २५ भागको रहेको जानकारी नेपालभाषाका प्रथम चलचित्र पत्रकार तथा उक्त धारावाहिकको नेपालीभाषाको स्वरांकन संयोजक विजयरत्न तुलाधरले बताएका छन्।

तुलाधरका अनुसार, भिक्षुका चेलाका रुपमा रहेका बाँदर र सुँगुरको अभिनय नेपाली बालबालिकाले अत्यन्त रुचाएका छन्। जुन बाँदर र सुँगुरको अभिनयको नेपालीमा स्वरांकन गर्ने ख्यातिप्राप्त हाँस्य कलाकार उमेश मायालुले गरेका छन्। कलाकार उमेश मायालुले बाँदर र सुँगुरको अभिनयको स्वराँकन गर्दा कतिपय अवस्थामा ज्वरो नै आएको त्यो कठिन समयलाई पार भएर नेपाली भाषामा प्रसारणमा आउदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्।

चीनका विभिन्न टेलिभिजन च्यानलवाट प्रसारण भैरहेको यस धारावाहिक टेलिसिरियलले प्रसारणको ऐतिहासिक रेकर्ड समेत राखिसकेको छ। ३ हजार पटक भन्दा बढी प्रसारण भैसकेको जानकारी नेपालमा नेपाली भाषामा प्रसारण गर्ने जिम्मेवारी वोकेको अरनिको समाजले दिएको छ। अरनिको समाजले चार बर्ष अघि चीनको केन्द्रिय टेलिभिजनसंग अनुमति लिएर आफ्नै स्रोत तथा साधनवाट नेपालीमा अनुवाद र स्वरांकन गर्ने कार्य गरेको हो।

प्रकाशन मिति–२०७६ साल मंसीर १२ गते विहीवार ।