काठमाडौं। नेपालको शाहबंशीय इतिहासमा अत्यन्त लोकप्रिय मानिएका राजा बीरेन्द्रको प्रत्येक बर्ष पुस १४ गते जन्म–जयन्ती मनाउदै आएको छ। सोमवार पुस १४ गते लोकप्रिय राजा बीरेन्द्रको विभिन्न कार्यक्रम गरेर ७५ औं जन्म–जयन्ती मनाउने कार्य भएको हो।

राजा वीरेन्द्रको ७५ औं जन्मजयन्तीका अवसरमा स्व.वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी स्वर्गिय राजा वीरेन्द्रलाई संझना गरेको छ। कर्पोरेट ग्रुपका अध्यक्ष उज्जवल जंग शाह प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा राजसंस्थालाई माया र सम्मान गर्ने विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी शाहले स्वर्गवासी राजा वीरेन्द्रको प्रतिमामा माल्यापर्ण गरेका थिए। कार्यक्रममा आफ्नो मनतब्य राख्दैं शाहले अहिलेका नेतामा राजा वीरेन्द्रको जस्तो देशप्रेम र दुरदर्शिता नरहेको बताए। उनले वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको रुपमा स्थापित गरेको प्रसंग जोड्दैं उनले नेपालको विकाशका लागि निस्वार्थ गरेको कामको अनुशरण अहिलेका गणतन्त्रबादी नेताले गर्न सकेमा देशको विकाश हुने धारणा व्यक्त गरेका थिए।

यसैक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले ललितपुरको जावलाखेलस्थित स्वर्गिय राजा वीरेन्द्रको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको र देश विकासका लागि धेरै योगदान पुर्‍याएको भन्दै स्मरण गरे।

विसं. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको विसं.२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरवार हत्या काण्डमा राजा बीरेन्द्रको बंश नै नाश हुने गरी त्रासदीपूर्ण दरवार हत्याकाण्ड भएको थियो। उक्त दरवार हत्याकाण्ड अझै रहस्यमय नै छ।

राजा वीरेन्द्रले विसं.२०४६ सालको जनआन्दोलन पछि पंचायती व्यवस्थाको अन्त गरेर प्रजातन्त्रको पुनर्बहाली गर्ने गहकिलो निर्णय गरेर नेपाली जनताका राजा बनेका थिए। राजा बीरेन्द्रले प्रजातन्त्रको पुनर्बहाली गरेपछि नेपालमा बहुदलीय व्यवस्था आएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ।


प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।