गाईजात्राको रंगीचंगी झाँकीमा बर्षभरिको मनको कुण्ठाको व्यंग्य

0 minutes, 0 seconds Read

Gaijatra 1काठमाडौ। जनैपूर्णिमाको भोलिपल्ट आज शुक्रबार भाद्र कृष्ण प्रतिपदा गाईजात्रा पर्व परेको छ। विशेष गरेर काठमाडौ उपत्यकाको अत्यन्त महत्वपूर्ण तथा व्यंग्यात्मक पर्वके रुपमा गाईजात्रालाई लिइने गरेको छ। रंगीचंगी पहिरन तथा विभिन्न झांकीका साथमा रमाइलोसँग मनाईने गाईजात्रा पर्व पहिला काठमाडौ, भक्तपुर र ललितपुरको मात्र पर्वको रुपमा लिइने गरेतापनि हाल आएर यो पर्व नेपालभर नै मनाइन थालेको छ। अझ नेपाल बाहिर नेपालीहरु रहेको प्रवासमा पनि आजैको दिन रमाइलोसंग मनाइन थालेको छ।

Gaijatra 3बर्षभरि मनका कुण्ठिएका भावहरुलाई व्यंग्यको माध्यमवाट प्रस्तुत गरिने पर्वको रुपमा पनि विकास भएको गाईजात्रे पर्व विशेष गरेर बर्षभरि दिवंगत भएका आफन्तका नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गरिने गर्छन्। जुन आज संपन्न भएको छ। यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सहज रुपमा तर्छन र मोक्ष प्राप्त गर्छ भन्ने धार्मिक विश्वास रहेको छ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ।

Gaijatra 4यो जात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा मनाउन थालेको विश्वास छ। काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो बस्ती रहेका शहर बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा यो पर्व मनाइन्छ।

Gaijatra 5भक्तपुरमा निकालिने गाइजात्राको भने छुट्टै रौनक र आकर्षण रहेको छ । त्यहाँ आजदेखि आठ दिनसम्म यो पर्व चल्दछ। भक्तपुरमा गाइजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिको ताहामच्चा अर्थात चारवटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने चलन छ।

त्यहाँ हुने घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच गाईजात्राको अर्को विशेषता हो । यसअघि हिजो हिन्दू धर्मावलम्बीले जनै पूर्णिमा पर्व मनाएका थिए । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै धारण गरेर यो पर्व मनाएका हुन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३ गते शुक्रबार ।

Similar Posts