काठमाडौ। हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज विहीवार परेको छ। आज श्रीकृष्ण भगवानको पूजा–आराधना गरेर यस पर्वलाई मनाउने कार्य भएको छ। पाटनको कृष्ण मन्दिर लगायतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुंइचो लागेको छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।