काठमाडौं। मानिसको व्यक्तित्व विकास जन्मजात त्यसै हुने कुरा होइन । त्यो त सिकेर जान्ने कुरा हो। सिक्नका लागि सञ्चार अत्यन्त आवश्यकता छ । सञ्चारमा पनि अन्तरव्यक्ति सञ्चार अझ महत्वपूर्ण कुरा हो। व्यक्तित्व विकासमा अन्तरव्यक्ति सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। जुन कुरा शहरमा भन्दा गाउंँमा यसले अझ महत्वपूर्ण भूमिका खेलेको पाइएको छ।
अन्तरव्यक्ति सञ्चार भन्नाले गाउँ–ठाउँका अगुवाहरुलाई, युवाहरुलाई, अझ विशेष गरी स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई, सामाजिक परिचालकहरुलाई प्रशिक्षण दिएर उनीहरु मार्फत नै सारा गाउँ–समाजलाई नै प्रशिक्षित गर्ने कार्य हो । त्यो कार्यले गर्दा समाजमा स्वास्थ्य देखि लिएर हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन भएको र हुने गरेको अन्तरव्यक्ति सञ्चारका अग्रज अभियन्ता धर्मराज बज्राचार्यको जिकिर रहेको छ।
नेपालका पूर्व देखि सुदूरपश्चिमसम्मका प्रायः जिल्लाहरुमा महिला स्वास्थ्य, गर्भवती महिला तथा नवजात शिशुहरु, सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य, परिवार नियोजन, एच्.आई.भि. एड्स, एकिकृत बाल तथा मातृ पोषण स्वास्थ्यका सम्बन्धमा सामाजिक व्यवहार परिवर्तन सञ्चार, सञ्चार, अन्तरव्यक्ति सञ्चारको क्षेत्रमा काम गर्ने तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने एवं विषयवस्तुहरु सम्बन्धित दूर शिक्षा रेडियो कार्यक्रम, धाराबाहिक रेडियो नाटक, फोन ईन कार्यक्रम तथा टेलि श्रृंखलाको विकास, निर्माण तथा प्रसारण गर्ने कार्य धर्मराज बज्राचार्यबाट भएको छ ।
अमेरिकी सहयोग नियोग (यु.एस.ए.आई.डी.)को आर्थिक सहयोग तथा जोन्स हप्किन्स युनिभर्सिटी सेन्टर फर कम्युनिकेशन प्रोग्राम्स (जे.एच्.यू.सीसीपि) को रेडियो संचार परियोजना अन्तर्गत सर्वसाधारण लक्षित “घाँटी हेरि हाड निलौं”, “ज्ञान नै शक्ति हो”, “भन्छिन् आमा” रेडियो नाटक श्रृंखलाहरु (सोप ओपेरा), महिला स्वास्थ्य स्वयं सेविका लक्षित “सेवा गरे मेवा पाइन्छ”, “सेवा नै धर्म हो” जस्ता दूर शिक्षा रेडियो कार्यक्रमहरु र मह संचारको अभिनयमा निर्मित “असल लोग्ने” जस्ता सुरक्षित मातृत्व सम्बन्धि टेलिफिल्म अत्यन्त लाभदायिक बनेको पाइएको छ । अर्कोतर्फ “जीवनको जिम्मेवारी” गर्भवती महिला तथा नवजात शिशुहरुको लागि लक्षित रेडियो कार्यक्रम, व्यवहार परिवर्तन संचार, अन्तरव्यक्ति संचार सम्बन्धि विभिन्न कार्यक्रमहरु रहेका छन्।
ती कार्यक्रमहरुले ती गाउँठाउँका महिला दिदीबहिनीहरुलाई उत्प्रेरित गर्न अत्यन्त मद्दत मिलेको ठहर ती कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत, संयोजक एवं कन्सलट्यान्ट समेत रहेका अभियन्ता बज्राचार्यको रहेको छ । जसले उनीहरुमा रहेको परम्परागत सामाजिक आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग गरेको दावी पनि बज्राचार्यको रहेको छ।
अर्कोतर्फ अमेरिकी सहयोग नियोग (यु.एस.ए.आई.डी.)को आर्थिक सहयोगमा संचालित नेपाल परिवार स्वास्थ्य कार्यक्रम, यूएन्डिपि अन्तर्गतको ग्लोबल फण्ड प्रोग्राम, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र÷स्वास्थ्य मन्त्रालय, यूएनएफपिए, सेड्पा, जपाईगो, टीपीओ नेपाल, नेपाल रेडक्रस सोसाइटी, म्यानेजमेण्ट सपोर्ट सर्भिसेज प्रा.लि., जे.एच्.यू. सीसीपि/एच्सीथ्री लगायतका दर्जनौं अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संघ–संस्था तथा सरकारी संस्थामा कन्सल्टान्सी सेवा प्रदान गरेर अन्तरव्यक्ति सञ्चार, सामाजिक व्यवहार परिवर्तन सञ्चार, अडियो भिडियो सञ्चारबारे तालिम र सञ्चार सामाग्रीहरुको विकास र निर्माणका सम्बन्धमा ठोस योगदान पुरयाउने कार्य बज्राचार्यबाट हुँदै आईरहेको छ।
त्यसमाथि, अमेरिकी सहयोग नियोग (यु.एस.ए.आई.डी.) को आर्थिक सहयोगमा संचालित पाँच बर्षे सुआहारा एकिकृत पोषण परियोजना चरण—१ मा “भन्छिन् आमा रेडियो कार्यक्रम”को सम्पूर्ण व्यवस्थापन, समन्वय, निर्माण र कार्यान्वयनको जिम्मेवारी बहन गरेर नेपालका ४१ जिल्लामा यो परियोजना सफल पार्ने कार्यमा बज्राचार्यको ठूलो योगदान भैसकेको छ।
एकिकृत पोषण कार्यक्रम सुआहाराको सन्देशहरुलाई भन्छिन् आमा रेडियो नाटक र भन्छिन् आमा फोन ईन कार्यक्रम मार्फत नेपालका ४१ जिल्लामा ९० वटा स्थानीय रेडियो एफएम् एवं रेडियो नेपालसंग सहकार्य गरेर देशभरी नै प्रसारण गरिएको जानकारी समेत बज्राचार्यले दिएका छन्।
करिब ३०/३२ वर्ष अगाडि (सन् १९८५—१९८८) नर्वेजियन सरकारको सहयोगमा संचालित वल्र्डभ्यू इन्टरनेशनल फाउण्डेसन गैर सरकारी संस्थाको अडियो भिडियो कम्युनिकेशन परियोजना, युनिसेफको आर्थिक सहयोगमा संचालिन नून–चिनी–पानी क्याम्पेन परियोजना, स्ट्रोमी मेमोरियल फाउण्डेशनको सहयोगमा गोरखा जिल्लामा संचालित रतन्धो निवारण आयोजना, क्यानेडीयन सरकार (CIDA) को सहयोगमा सुर्खेतमा संचालित महिला विकास परियोजनामा समेत कार्य गरिसकेका सामाजिक परिवर्तनका अभियन्ता बज्राचार्य सबैको प्रेरणा पनि हुन् ।
जिन्दगी भित्रका धर्मराज – धर्मराजको जिन्दगीको कथालाई नियाल्ने हो भने, धेरैको मन अमिलो हुन सक्छ। पीडाले यति धेरै राम्रो मान्छे भित्र कति धेरै दुःख छ भन्ने कुरा सहजै थाहा हुने गर्दछ । हुन त त्यो सबै दुःख तथा पीडाको पहाडले बनेको धर्मराजका जिन्दगीका कथामा विगत बाल्यकालका कति दिन भोक भोकै बस्नु परेको यथार्थता रहेका छन् । काठमाडौंको थाकथलो थँहिटी टोलको मध्यम बर्गिय परिवारमा जन्मेका धर्मराजका ६ भाई र ३ बहिनी रहेका छन् । पिताको परम्परागत उपचार तथा झारफुक पेशाको भरमा पालिएको दुई आमासहितको ठूलो परिवारमा आर्थिक अभावको कारण कहिलेकाहीं भोकै बस्नुपर्ने पीडा पनि उनमा थियो।
कतिखेर बुवाले कमाएर लिएर आउनु हुन्छ र आमाले कमाएर ल्याउनु हुन्छ अनि मात्र खान पाइएला भनेर ६ भाई र ३ बहिनीको लहरमा उनी आफूपनि उभिनु पर्दा पीडाले अत्यन्त गल्ने गर्दथे । भित्र–भित्रै विद्रोह हुन्थ्यो–धर्मराजको मनमा । अनि त्यो मनले भन्थ्यो – “हे इश्वर! दुःखीको घरमा मात्र तेरो बास हुने भए, अझ मलाई दुःख दे!”
यसरी जिन्दगीका कैयन दिनसंग अनि रातसंग पौठेजोरी खेल्दै जिन्दगीलाई अँध्यारोबाट उज्यालोतिर ल्याउने कार्य धर्मराजले बि.सं. २०३६ सालमा प्रभात माध्यमिक विद्यालयबाट एस्.एल्.सी्. परीक्षा पास सँगै त्यो कठिन जिन्दगीलाई नयाँ मोड दिन पनि सफल बनेका थिए–धर्मराज ।
नेपाली कांग्रेसका लौहपुरुष सर्वोच्च नेता बीर गणेशमान सिंहज्यूका जेठो भतिजो स्वर्गिय विप्लवमान सिंहज्यू मार्फत पहिलो पल्ट टंगाल अवस्थित नर्वेजियन सरकारको आर्थिक सहयोगमा संचालित वल्र्डभ्यू इन्टरनेशनल फाउण्डेशन नामक अन्तरराष्ट्रिय गैर सरकारी संस्थामा ३२ वर्ष अगाडि सन् १९८५को अक्टोबर महिनामा जागिरे बनेका थिए—धर्मराज।
हुन त यसअघि नै परिवार पाल्न बुवा र आमालाई जेठो छोराको नाताले सानोतिनो कार्य तथा काठमाडौं ट्राभल्स एण्ड टूर्स÷द्वारीकाज भिलेज होटल, होटल सोल्टीमा समेत काम गरेर भएपनि सघाउने कार्य धर्मराजबाट भएको थियो । तर एसएलसीको परीक्षाको क्रममा बीर गणेशमानको परिवारसंग निकटता बढेपछि धर्मराजको जिन्दगीले नयाँ मोड पाएको हो।
बीर गणेशमान सिंहज्यूकी ठूली छोरी रीता सिंहसँग बि.सं. २०३५ सालमा एसएलसी परीक्षा तयारीका क्रममा अंग्रेजी विषय सिक्ने, पढ्ने अवसर मिलेबाट बीर गणेशमान सिंहको परिवारसंग धर्मराजको चिनाजानी र निकटता बढेको थियो । अझैपनि धर्मराजलाई याद छ–गणेशमान निवास चाक्सीबारीमा अंग्रेजी सिक्न र पढ्न जाने क्रममा धेरैपल्ट वीर गणेशमानसंग भेट भएको र भेटका क्रममा वहाँले “राम्रो सँग धेरै पढेर ठूलो मान्छे बन्नु पर्छ” भन्ने गर्नु भएको तर राजनीतिमा लाग भनेर कहिले पनि भनेन भन्ने कुरा ।
राजनीति होइन, परिवारनीति
शायद त्यो बेला बीर गणेशमानले राजनीति गर्नु भनेको भए, चुर्लुम्म राजनीतिमा डुब्ने थिएँ होला भनेर भन्ने धर्मराज नभनेकै कारण आफू परिवारनीतिमा नै लागेको खुलासा गरेका छन् । सोही नीतिका कारण जागिर खाँदै ठूलो परिवार पाल्ने जिम्मेवारी आफूले लिएको तर आजसम्म कुनै पनि राजनीतिक पार्टीमा नै नलागेको बताएका छन् ।
अर्कोतर्फ भाईहरु, बहिनीहरु, परिवार, आफन्तहरु र छरछिमेकहरुकै लागि पनि धर्मराज महाभारतको धर्मराज युधिष्ठर जस्तै थिए।
भाइ–बहिनीहरुको पालन–पोषण र बृतिविकासका लागि अहोरात्र काम गर्ने उनले कतिपय अवस्थामा आफूले आफैलाई नै बिर्सेका थिए । परिवारनीतिमा चुर्लुम्म डुबेका धर्मराजले एक पछि अर्को गरेर विभिन्न अन्तरराष्ट्रिय गैरसरकारी निकायहरुमा काम गर्दागर्दै झण्डै विवाह गर्न बिर्सेका थिए।
आफूलाई भन्दा पनि बढी माया गर्ने आप्mनै टोलकी प्रेमिका सुनिता कायष्थलाई जीवन संगीनी बनाउन करिब तीन बर्ष संघर्ष गर्नुपरेको, फिल्मी शैलिमै भागेर दुई दुई पल्ट मन्दिरमा स्वयम्बर गर्दासमेत नहुने देखेपछि आफुले काम गरिरहेको संस्थाकै कर्मचारी साथीभाईको सहयोग र रोहबरमा धुलिखेलको जिल्ला प्रशासन कार्यालयसम्म गएर कोर्ट म्यारिजसम्म गर्नु परेको त्यो अतित उनी अझै विर्संदैनन्।
विवाह त गरियो, तर धेरै परिवार भएको सानो घरमा प्रेमिकालाई पत्नी बनाएर लान साह्रै गाह्रो तथा घर साँघुरो भएर बस्नलाई नै अप्ठेरो भएपछि परिवारबाट बाहिर डेरामा बसेर जिन्दगीलाई अर्को मोडमा ल्याएका थिए । तरपनि, परिवारको लिडिङ्ग गर्ने कार्य आफूपछिको भाईलाई जिम्मेवारी दिएर परिवारलाई हेर्ने र आमाबुवा, दाजुभाई बहिनीहरुलाई आजसम्म पनि निरन्तर सहयोग गर्ने कार्य घरबाहिरबाटै गर्दै अगाडि बढेका उनलाई कर्मले सँधै साथ दियो।
भाग्यमा भन्दा कर्ममा अत्यन्त विश्वास गर्ने उनी कर्मपथमा निरन्तर लागेकै कारण त्यति धेरै परिवारलाई उचित स्थापन गरेर वि.सं. २०५१ सालमा ६२ वर्षको उमेरमै दमको रोगले बुवा कृष्ण राज बज्राचार्यको स्वर्गारोहण भए पश्चात आफै घरको मूलि बनेर अगाडि बढ्ेका उनी परिवारको ग्रेट नै बनेका छन् । भाईहरु तथा बहिनीहरुका ग्रेट दाजु, दुई आमाका ग्रेट छोरा र आफन्तहरु, साथीभाई छरछिमेकीहरुको माझ पनि ग्रेट छोराको छबी बनाएर बेग्लै परिचय राख्न सफल उनी हरेक कुरामा सकारात्मक सोच राख्छन्।
बौद्ध जाती भएतापनि बुबाआमाको अन्तरजातीय बैबाहिक सम्बन्धले गर्दा बज्राचार्य कूल परम्परामा भिजिन नपाई बज्राचार्य कूलको केही पनि कुरा सिक्नबाट वञ्चित हुनु परेता पनि वि.सं. २०५७ साल देखि हाल लुम्बिनी विश्व विद्यालयका उपकूलपति प्रा. डा. नरेशमान बज्राचार्य जस्ता असल मित्रसँगको सँगत र सहयोगले नेपालको परम्परागत बौद्ध धर्म संघ, जेजिओ नेपाल, त्रिरत्न कोष जस्ता विभिन्न बौद्ध एवं सामाजिक संस्थाहरुमा आबद्ध रही उनको बौद्ध धर्म एवं समाज सेवामा आस्था बढेको र सकारात्मक सोचबाट पूण्य प्राप्ति हुने उनको धारणा रहेको छ । यसअर्थमा पनि धर्मराज कसैलाई पनि नकारात्मक रुपबाट हेर्दैनन् र कसैले पनि हेर्न हुन्न भन्नु हुन्छ । यो नै धर्मराजको जीवन दर्शन भएको छ।
संचार क्षेत्रमा विश्व प्रख्यात जोन्स हप्किन्स विश्वविद्यालय संचार कार्यक्रम केन्द्र (JHU/CCP) सँग सन् १९९५ अक्टोबर देखि आवद्ध हुँदै स्वास्थ्य संचार क्षेत्र, रेडियो र टेलिभिजन कार्यक्रम तथा सूचना शिक्षा सामाग्रीहरुको विकास, निर्माण कार्यमा लाग्दैै आईरहेका र JHU/CCP कै संचारका १० अवधारणाहरुः सिक्नका लागि सुन्नु पर्छ सुन्न सिक्नु होस् (Learn to Listen, Listen to Learn), संचार एक प्रक्रिया हो (Communication is a Process), सोचाई ठूलो राख्नुहोस्, स्यानैबाट शुरु गर्नुहोस्, अहिले नै काम थालनी गर्नुहोस् (Think Big, Start Small, Act Now), समूहमा काम गरे बढी प्रगति हुन्छ (Together Everyone Achieves More (TEAM) Works), अरुलाई परिवर्तन गर्नका लागि हामीले सर्वप्रथम आफूलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ (To change others, we may have to change ourselves first), समस्याहरुको समाधान चरणवद्ध रुपमा गर्नुहोस्(Solve Problems in stages), ज्ञान वृद्धि हुन्छ (Knowledge Grows), केन्द्रित हुन त्याग चाहिन्छ (Focus Demand Sacrifice), गुणस्तरको मूल्य सस्तो पर्छ (Quality Cost Less), विश्वास गर्नुहोस्, तपाइले फरक पार्न सक्नु हुन्छ र पार्नु हुनेछ (Believe you can make a difference and You Will) लाई मूल मन्त्र बनाएर अगाडि बढ्दै रहेका धर्मराज समाज परिवर्तनका संवाहक हुन पुगेका छन् । सुगम देखि दूर्गमसम्मका साँच्चिकै आधुनिक धर्मराज युधिष्ठर बन्ने कार्य उनीबाट हुँदैआएको छ । जुन मननयोग्य रहेको छ।
प्रकाशन मिति–२०७४ साल असार २६ गते सोमवार ।