
काठमाडौ। कलाकारिता भनेको हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो। जुन कलामा कतिले गहिराई पाउने गर्छन भने, कतिले उचाई देख्ने गर्छन्। सोही कलाकारिताभित्रको अनौठो तर यथार्थ कलाकारिता ललितपुरको हात्तिबन स्थित लिट्टिल एञ्जल्स स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी
१२ बर्षकी सुमना बज्राचार्यको कलाकारितामा पाइएको छ।
अरु कलाकारले भन्दा फरक कलाकारिता देखाएर बेग्लै उचाई कायम गर्न सफलता पाएकी सुमनाको थ्रीडी कलाकारिता नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा सोमवार काठमाडौको बसन्तपुरस्थित दश अवतार डवलीमा प्रदर्शन गरियो। केवल मैदा र अंगार अर्थात गोलको धुलोवाट करिब अढाई घण्टामा तयार गरिएको पिरामिड शैलीको सुमनाले बनाएको चित्रमा कतिले गहिराई देखे भने, कतिले उचाई पाए।
गहिराई र उचाई भित्रको अनौठो यो कला हेर्ने दर्शकहरु तीनछक्कै परेका थिए। जसवाट सुमनाको यस कलाकारितावाट सुमनाका पिताजी निर्मल बज्राचार्य पनि निक्कै दंग परेका छन्। सानैदेखि अदभूत कलाकारितामा रुचि राख्दैआएकी सुमनाको चाहना तथा इच्छा हाल आएर थ्रीडी कलाकारिता भएको छ।
थ्रीडी कलाकारिताको माध्यमवाट देश देखि विदेश सवैतिर चिनिन चाहने सुमनको यो प्रतिभालाई उजिल्याउन तर्फ आफ्नो सदा सहयोग र साथ रहने प्राध्यापक पेशा अंगालिरहेका सुमनाका पिता निर्मल बज्राचार्यले बताएका छन्। सुमना पनि आफूभित्रको यो कलाकारितालाई उच्चता प्रदान गर्नमा लागिपर्ने बताएकी छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १६ गते मंगलवार । नेपाल संवत ११३७ कछला दुतिया ।