Bisket Jatra 2काठमाडौ। नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा आज मंगलवार सम्पन्न भएको छ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ। गत चैत २८ गते तौमढीबाट साँझ ५ बजेबाट भैरबको रथ तानेर सुरु भएको यो जात्रा आज साँझ पनि ५ बजे नै गःहिटीबाट स्थानीयवासीले रथ तानेका थिए ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरबनाथको रथमा भैरबनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथ तान्ने क्रममा रथको पाङ्ग्रा अड्याउने भाग भाँचिएपछि रथ गुड्न नसक्ने अवस्थामा गःहिटीमै अड्किएको छ।

रथबाट भैरबको मूर्तिलाई तान्त्रिक विधिअनुसार द्यो छेँ अर्थात् देवता घर भित्र्याएपछि जात्रा सम्पन्न हुने परम्परा रहेको छ। रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुनसक्ने भएकाले जात्रा सञ्चालन हुने क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ।

जात्रास्थलमा एक हजार एक सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । जात्राको सुरुको दिन गत चैत २८ गते रथ तान्ने क्रममा मध्यरातिसम्म ढुङ्गा हानाहान हुँदा १२ जना घाइते भएका थिए ।
प्रकाशन मिति–२०७४ साल बैशाख ५ गते मंगलवार ।