काठमाडौ। इनर व्हील क्लब स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय सेवा गर्ने महिलाहरुको सवैभन्दा ठूलो संस्था हो। जसमा संसारका १ सय ३ भन्दा वढी राष्ट्रहरुमा ३ हजार ८ सय ९५ क्लबहरुमा १६८ डिस्ट्रिक्टहरुमा १ लाख भन्दा वढी सक्रिय सदस्यहरु छन्।

यसका सदस्यहरु विपन्नहरुलाई आफूमा भएको श्रोत, साधन र समुदायमा भएको श्रोत साधन परिचालन गरेर सेवा गर्दा प्राप्त हुने आनन्द र सन्तोषमा रमाउने गर्दछन् । यसरी काम गर्दा आपसी सद्भाव, मित्रता र एकता विकास गर्दै आफ्नो जीवनलाई सार्थक बनाउने कार्य गर्दैआएको इनर व्हील क्लवले जनाएको छ। यसैक्रममा नेपालमा इन्टरनेशनल इनर व्हील प्रेसिडेन्ट डा.कपिला गुप्ताको प्रमुख आतिथ्य र कमला महर्जन सुवालको अध्यक्षतामा चौथो इनर व्हील डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि डा.गुप्ताले महिला सशक्तिकरण र समाज सेवामा इनर व्हीलको भुमिकाको बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रममा संस्थापक डिस्ट्रिक्ट चेअरमेन कमल प्रभा खरेलले हालै गएको भुकम्पमा क्षति भएको तिनघरे गाउँ र कोशीदेखा स्कूलमा इनर व्हील डिस्ट्रिक्ट ३५० ले पुननिर्माण गरेको जानकारी दिएकी थिइन्। आगामी बर्ष २०१८-१९ को लागि डिस्ट्रिक्ट चेअरमेन उषा क्षेत्रीको नेतृत्वमा ७ सदस्य कार्य समिति पनि गठन गरियो ।

यसका साथै इनर व्हील डिस्ट्रिक्ट ३५० की चेअरमेन कमला महर्जन सुवालले हाल विश्वभरी अशान्त र तनावको अवस्थामा “सौहार्दता ” थिम अनुसार सबैलाई विश्वास गरेर नकारात्मक सोचलाई त्यागेर सकारात्मक सोचतर्फ लाग्न सम्पूर्ण इनर व्हील सदस्यहरुलाई आव्हान गरेकी छन्। सम्मेलनको अन्तमा निवर्तमान अध्यक्ष विजय लक्ष्मी श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन्।

प्रकाशन मिति–२०७४ साल माघ ९ गते मंगलवार ।