काठमाडौ। नेपालमा फोटोपत्रकारिताको महत्व र आवश्यकता नै महशुश नगरिएको अवस्थामा फोटोपत्रकारिता गर्नु र यसैमा समाहित बन्ने कार्य अवश्य पनि चानचुन कुरा होइन्। अर्कोतर्फ निरन्तर एउटै संस्थामा ४१ बर्ष अत्यन्त क्रियाशील बनेर काम गर्नु पनि कम आंकन पनि होइन्।
जुन नेपालका बरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जनको हकमा सामान्य कुरा हुन पुगेको छ। विगत तीन बर्षयता नेपालको जेठो पत्रिका गोरखापत्र दैनिकको सेवावाट निवृत बनेर स्वतन्त्र फोटोपत्रकारिता गर्नमा हाल तल्लिन फोटोपत्रकार नातिकाजी महर्जनको अनुभवमा गोरखापत्रको ४१ बर्षे फोटोपत्रकारिताको करियर एक चुनौति तथा अवसर नै बन्यो।
वि.सं.२०३२ सालमा गोरखापत्रको सेवामा प्रवेश गरेका नातिकाजीले फोटोपत्रकारका रुपमा प्रवेश पाएका होइनन्। त्यो बेलासम्म फोटोपत्रकारिताको ट्रेण्ड नै शुरु भएको थिएन। अझ पत्रिकामा फोटो छाप्ने खासै विकास भएको थिएन। गिद्धे लेटर प्रेसको जमानामा हातले अक्षर निकाल्दै कम्पोज गरेर पत्रिका छाप्ने बेलामा पत्रिकामा फोटो छाप्ने प्रथाको विकास नै भएको थिएन।
लिथोग्राफिकरको दुई तहवाट जागिर शुरु गरेका नातिकाजीले त्यसको केही बर्षपछि ठट्टैमा त्यो बेलाको हाते क्यामेरा बोकेर फोटो खिचेका थिए। मन्दिर घुम्ने क्रममा त्यतिकै खिचिएको फोटो गोरखापत्रमा छापिएपछि त्यसको व्यापक चर्चा भयो। त्यसपछि सवैले नातिकाजीलाई गोरखापत्रका फोटोग्राफर भन्न थाले। नभन्दै नातिकाजीलाई गोरखापत्र संस्थानले फोटोग्राफर पदमा नै पछि नियुक्ति दिइयो।

स्वतस्फुर्त रुपमा सिकेको फोटोग्राफीलाई गोरखापत्रले निरन्तरता दिन मदत गरेपछि नातिकाजीको परिचय नै फोटोपत्रकार भयो। गोरखापत्रमा ४१ बर्ष फोटोपत्रकार बनेर काम गरेका नातिकाजीले चार पल्ट मात्र प्रमोसन पाए। त्यो पनि प्रत्येक दश बर्षमा दिइने अनिवार्य प्रमोसन पाएर छैठौ तहको अधिकृत पदमा पुगेर उमेरको कारण अनिवार्य अवकाश पाएका नातिकाजी यतिखेर ६२ बर्ष पुगिसकेका छन्।
६२ बर्षको उमेरमा पनि पहिला जतिकै त्यतिकै सक्रिय नातिकाजीको गोरखापत्रको करियरमा धेरै अविस्मरणीय क्षणहरु रहेका छन्। विशेष गरेर त्यो बेलामा बढी फोटो राजा र राजपरिवारकै गोरखापत्रमा छापिने भएकोले दरवार हत्याकाण्डमा मारिएका राजा बीरेन्द्रका नातिकाजी अत्यन्त प्यारा फोटोग्राफर थिए।

हाल निर्वाचन आयोग बसेको बहादुर भवनमा आयोजित एक कार्यक्रममा राजा बीरेन्द्रले पहिलो पल्ट नातिकाजीसँग कुरा गरेका थिए। राजा बीरेन्द्रलाई नातिकाजी भनेर परिचय दिनासाथ तुरुन्तै गोरखापत्रको हालखवर के छ भनेर सोधेको त्यो क्षण अझै अविस्मरणीय रहेको सुनाउंछन्। जवकि, नातिकाजीले आफू गोरखापत्रको फोटोग्राफर भन्ने नपाउंदै तुरुन्तै तिमी गोरखापत्रको फोटोग्राफर म तिमीलाई राम्ररी चिन्छु र तिमीले खिचेका फोटाहरु अत्यन्त राम्रो छ भनेर ढाडस दिएका थिए।
राजदरवारका धेरै कार्यक्रमहरुमा राजपरिवारका धेरै फोटो खिच्ने मौका तथा अवसर पाएका नातिकाजीले सवै व्यवस्था भोगेका छन्। पञ्चायतका कालका कठोर कालदेखि जनयुद्धका डरलाग्दा काल अनि प्रजातन्त्र र गणतन्त्रका सवै क्षणका सजीव फोटो खिचेर इतिहास रचेका नातिकाजीको उचित सम्मान भने राज्य र सरकारले गरेको भने देखिएन।
नातागोता तथा सिफारिस नहुंदा सरकारी मुखपत्र गोरखापत्रको ४१ बर्षे सेवामा अनिवार्य प्रमोसन बाहेक अरु प्रमोसन नपाएको गुनासो नातिकाजीको रहेको छ। आफू सरहका साथीहरु गोरखापत्रमा हाकिम बनिसक्दा पनि आफू सोही पदमा काम गर्नुपर्दाको त्यो बेलाको लघुतांभास बाहेक अरु तितो अनुभव नभएको बताउने नातिकाजीमा ब्लड प्रेसरको समस्या रहेको छ।
यही ब्लड प्रेसरले गर्दा तीन बर्षयता तीन पटक विरामी परिसकेका नातिकाजी जीवनको अन्तिम अवस्थासम्म पनि फोटोपत्रकारिता गरिरहने प्रतिवद्धता व्यक्त गर्छन्।