मुस्लिम धर्माबलम्वीहरुको महान पर्व आज ईद पर्वको सार्वजनिक विदा

0 minutes, 0 seconds Read

Edaकाठमाडौ। मुस्लिम धर्माबलम्वीहरुको महान पर्व ईद उल फित्र पर्व आज विहीवार परेको छ। चन्द्रमास अनुसार मनाइने यस पर्वको अघिल्लो दिन बुधवार चन्द्रमा देखिएपछि आज विहीवार ईदको तय भएपछि नेपाल सरकारले नेपालमा ईदको सार्वजनिक विदा घोषणा गरेको छ।

अरबी पात्रोअनुसार दशौं महिनाको पहिलो दिन चन्द्रमा देखिएको दिन ईद पर्व मनाइने गरिन्छ। यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ। यसलाई जकात भनिन्छ। इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ।

इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ। स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ। मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ। पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ।
प्रकाशन मिति–२०७३ साल असार २३ गते विहीवार ।

Similar Posts