काठमाडौं। रोजगारीको लागि कितावी शिक्षा मात्र भएर अवश्य पनि पुग्दैन। त्यसको लागि सीप चाहिन्छ । सीपवान सिल्पीको समाजमा बेग्लै मान तथा इज्जत हुने गरेको छ । भनिन्छ–जो सँग सीप छ । त्यो व्यक्ति कहिले पनि भोको बन्नु पर्दैन। उनीभित्रको सीपले नै उनलाई जीवन प्रदान गर्ने गरेको हुन्छ । यो मूलभूत अवधारणालाई पुष्ट्याई गर्ने उदेश्य अनुरुप विशेषत सामाजिक रुपमा पिछडिएका महिला दिदी–बहिनीहरुको आशाको केन्द्र कीर्तिपुरकी सामाजिक अभियन्ता रितु महर्जन बनेकी छन्।

पेशाले रितु महर्जन व्युटीसियन भएतापनि महर्जनको हातमा अनेक सीप छ। त्यो सीपलाई सामाजिक रुपमा अभिबृद्धि गर्ने–गराउने तथा महिला दिदीबहिनीहरुलाई रोजगार बनाउने कार्यमा यतिखेर रितु महर्जनलाई भ्याई–नभ्याई भएको छ। कहिले व्युटीपार्लरको तालिम त कहिले मन्टेश्वरी शिक्षाको तालिम लगायत बेकरी, सिलाई, अचार बनाउने, नेतृत्व विकास तथा उदघोष लगायतका तालिम प्रदान गर्ने–गराउने कार्यमा अत्यन्त क्रियाशील बनेर लागिरहेकी छन्। निक्कै नै जाँगरिली रितु महर्जनलाई जिन्दगीले अझ धेरै आशावादी बनाइदिएको छ।

रोजगारीको लागि अत्यन्त कठिन भएको बर्तमान अवस्थामा आफूले विभिन्न तालिम मार्फत ती महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सफलता प्राप्त गर्न सकेकोमा रितु महर्जन खुशी देखिएकी छन्। आफूजस्तै सवैलाई खुशी र सुखी भएको हेर्न र देख्न चाहने रितु महर्जनको लक्ष्य भनेकै सामाजिक रुपमा आमूल परिवर्तन ल्याएर समृद्ध नेपालको सुखी नेपाली बनाउनु हो। कीर्तिपुरको पाँगा दोवाटोमा रितु महर्जनको सालिनी व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर रहेको छ।

विसं.२०५६ सालवाट कीर्तिपुरमा व्युटीपार्लर खोल्ने रितु महर्जनले व्युटीपार्लरको व्यवसाय गर्न थालेको पनि २० बर्ष पुगिसकेको छ। यसअवधिमा एक हजारभन्दा बढीलाई व्युटीसियनको तालिम प्रदान गरिसकेकी छन्। राष्ट्रिय सौन्दयकर्मी युनियनको समेत अत्यन्त सक्रिय सदस्य रहेकी रितु महर्जनको जन्म भारतको कलकतामा सन् १९७६ सालमा भएको हो। कीर्तिपुरको रैथाने भएतापनि पिताजीको कलकतामा उडिसा गभमेन्टको जागिरे भएको कारण आफ्नो परिवार त्यहाँ पुगेको र त्यही आफ्नो जन्म भएको रितुले भनेकी छन्।

कलकताको परिवेशमा जन्मी–हुर्केपनि त्यहाँको परिवेशले आफ्नो परिवारलाई नछोएको तथा नेपाली संस्कार नै आफूहरुमा कायम भएको दावी रितुको रहेको छ। सन् १९९९ सालमा सपरिवार नेपाल आएको तथा त्यो बेला आफू २३ बर्ष पुगिसकेको अनि कीर्तिपुरमा नै घरजम भएको रितुले भनेकी छन्। घरजम भएतापनि लामो समय नटिकेको र छोरी चार बर्ष हुंदा छुटिनु पर्दाका पीडा रितुमा रहेको छ।

छोरी नै यतिखेर १२ बर्ष पुगिसकेको बताउने रितु आफू एकल महिला भएको कहिलेपनि महशुश नभएको र अझ समयले बलियो बनाएको तर्क गर्छिन्। अर्कोतर्फ समाजमा रहेका एकल महिलाहरुको उत्थानको कार्यमा लाग्न पाउंदा रितु निक्कै खुशी पनि देखिएकी छन्। महिलाहरुलाई विभिन्न कारणले समाजले दवाउने तथा हेप्ने परम्पराको पहिलादेखि विरोधीको रुपमा रहेकी रितु सवैको लागि सहयोगी सोचकी सामाजिक अभियन्ता हुन्।

राजनीतिमा लाग्न अनेक अफर आएतापनि राजनीतिमा नलागिकन न्यूट्रोल बन्दैआएकी रितुको लक्ष्य तथा उदेश्य भन्नु नै दिनदुःखीहरुको सेवा गर्नु हो। निकट भविष्यमा बालआश्रम तथा बृद्धाश्रम खोल्ने रितुको उदेश्य पनि हो। यसकारण पनि सामाजिक क्षेत्रमा अनवरत लागिरहेकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।