काठमाडौं। विगत पच्चीस वर्षदेखि फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग गरिएको छ। उच्च मधुमेहका कारण किड्नी र आँखाको रोगले ग्रस्त फोटोपत्रकार महर्जनलाई नेपालभाषाका चर्चित अभिनेता रुपेन्द्र श्रेष्ठले सहयोग गरेको हो।

आर्थिक संकटका कारण किड्नीको महंगो उपचार खर्च जोहो गर्न कठिनाई भैरहेको खवर प्रकाशनमा आएपछि अभिनेता श्रेष्ठले फोटोपत्रकार महर्जनको काठमाडौं बाफल चखुमार्गस्थित निवासमा नै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। नगद ५ हजार ५ सय ५० रुपैयाको चेक फोटोपत्रकार महर्जनलाई अभिनेता श्रेष्ठले प्रदान गरे।

लामो समयदेखि फोटोपत्रकारिता गर्दैआएका सवैको हितैषी फोटोपत्रकार महर्जनको उपचार कोषमा केही हदसम्म भएपनि सहयोग मिलोस् भनेर सहयोग प्रदान गरेको अभिनेता श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्। फोटोपत्रकार महर्जनको जीवन रक्षाको लागि सवैले यसरी नै सक्दो सहयोग गरिदिन अभिनेता श्रेष्ठले अनुरोध गरेका छन्।

यसअघि यसरी नै नेपालभाषाको चर्चित सिरियल ख्वताबजीका कलाकार मानकृष्ण र पिताको लागि मिर्गौला दान गर्ने सरिता महर्जनलाई अभिनेता श्रेष्ठले यसरी नै सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरिसकेका छन्। पहिलो पल्ट आफ्नो उपचारको लागि यसरी सहयोग गर्ने अभिनेता श्रेष्ठलाई फोटोपत्रकार महर्जनले यो गुणलाई कहिलेपनि गुण नविर्सने बताएका छन्।


प्रकाशन मिति–२०७५ साल असोज ९ गते मंगलवार ।