काठमाडौं। आज मुस्लिम समुदायको महान पर्व इद उल फित्र । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन रहेको छ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरिन्छ। यो पर्वको अर्को उल्लेखनीय पक्ष भनेको गरीबलाई दान दिनु हो।

इद ऊ फित्र पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ। जसलाई जकात भनिन्छ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ। सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ। सोे दान पनि गरीबलाई नै दिइन्छ। यसैबीच नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।


प्रकाशन मिति–२०७६ साल जेठ २२ गते बुधवार ।