काठमाडौं। नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो ।

एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यी चारसहित निगमका कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । यसअघि सोमबार र मंगलबार गरी नौं जनामा संक्रमण पुष्टि भइसकेको छ।

असार २८ सम्म उद्धार उडान तालिका भएको निगमले त्यसपछिका उडान स्थगन गर्ने निणर्य गरेको छ । उडानकर्मीमा संक्रमण बढ्दै जान थालेपछी निगमले थप उडान नगर्ने जनाएको छ ।

निगमले हाल आफ्ना चारवटा जेट विमानलाई नेपालीहरुको उद्धार उडानमा लगाएको छ । यी विमानका लागि ५४ जना स्वदेशी तथा विदेशी पाइलट र सय हाराहारीमा क्याबिनक्रु छन् ।
प्रकाशन मिति–२०७७ साल असार २४ गते बुधवार ।