काठमाडौ। काठमाडौं महानगरको सडक सफा गर्नका लागि इटालीवाट पाँचवटा ब्रुमर आइपुगेको छ। अत्याधुनिक सुविधा संपन्न डुलेभो इन्टरनेशनल कंपनीका यी पाँचवटा ब्रुमरको टेस्ट ड्राइभको कार्य लगभग सकिएको काठमाडौं महानगरपालिकाका बरिष्ठ मेकानिकल इञ्जिनियर पुरुषोतम शाक्यले बताएका छन्।

ग्लोबल टेण्डर मार्फत इटालीवाट भारतको कलकत्ता बन्दरगाह हुंदै नेपाल भित्रिएको पांचवटा ब्रुमरको टेस्ट ड्राइभिङ कार्यमा थापाथली इञ्जिनियरिङ क्याम्पसका मेकानिकल इञ्जिनियर प्राध्यापक लक्ष्मण पालिखे लगायतको समेत सहभागिता रहेको थियो।

१० करोड ८९ लाख २४ हजार ९ सय लागत परेको सडक सफा गर्ने यी पाँचवटा ब्रुमरले केही दिनभित्र नै काठमाडौं महानगरका ठाउं–ठाउंमा पुगेर सडक सफा गर्ने जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, यसका लागि केही प्राविधिक तथा प्रशासनिक कार्य वांकी रहेको छ। त्यस कार्य पूरा भएपछि महानगरका सडक सफा गर्न ब्रुमर गुड्ने भएका छन्।

यी पाँचवटा ब्रुमरले सडक सफा गर्नुको अलावा सडकका पेटी पनि मज्जाले सफा गर्ने बेग्लै खुवी रहेको छ। साथमा सडकमा धुलोसंगै सानातिना ढुंगा–ईट्टा पनि मज्जाले तानेर सफा गर्न सक्ने अर्को क्षमता भएकोले यो अत्यन्त उत्कृष्ट र टिकाउ ब्रुमर भएको दावी कंपनीका इञ्जिनियर प्रविण कुमारको रहेको छ।

अर्कोतर्फ, आगामी तीनबर्षसम्म यी पांचवटा ब्रुमरको व्यवस्थापन तथा अप्रेसनको कार्य ब्रुमरको नेपाल वितरक वल्र्डवाइड ट्रेडिङ कंपनीले निःशुल्क गर्ने भएको छ। जसमा चालकको पनि भार काठमाडौं महानगरपालिकालाई नपर्ने भएको छ। आगामी तीन बर्षसम्म केवल यी ब्रुमरको लागि आवश्यक इन्धन मात्र उपलव्ध गराएमा पुग्ने जानकारी बरिष्ठ मेकानिकल इञ्जिनियर पुरुषोतम शाक्यले दिएका छन्।

प्रत्येक ब्रुमरमा ५ सय लिटर क्षमताको पानी ट्यांकी पनि भएकोले सडक सफा गर्ने क्रममा पानीले स्प्रे गर्ने गर्दछ। जसका कारण सडक सफा गर्ने क्रममा सडकमा धुलो नउड्ने र सडक सुन्दर बन्ने निश्चित रहेको छ। एउटा ब्रुमरको सडक सफा गर्ने क्षमता ५० जना सफाई कर्मचारीले गर्नेभन्दा बढी क्षमता रहेको दावी पनि गरिएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।