काठमाडौं। नेपालको जेठो नगरपालिका काठमाडौं महानगरपालिकाले जारी लकडाउनको अवस्थामा राहत वितरण गर्ने कार्यमा नयाँ मोडालिटी प्रयोग गर्न थालेको छ। महानगरका वडाहरुमा यस नयाँ मोडालिटीको प्रयोग भैरहेको छ। नयाँ मोडालिटीमा श्रममा आधारित राहत रहेको छ।

उक्त श्रममा आधारित राहतमा काठमाडौं महानगरपालिका वडा नंबर ४ ले भने नविनतम् प्रयोग नै गर्ने कार्य भएको खुलासा वडा नंबर ४ का लोकप्रिय वडा अध्यक्ष मोहन वहादुर विष्टले गरेका छन्। भिजन संसार डटकमसंगको विशेष भिडियो अन्तरवार्तामा वडा अध्यक्ष विष्टले आफूहरुले कामको आधारमा दाम दिने, बजारमा गएर रासन खरिद गरेर खाने नीतिलाई तय गरेर नयाँ मोडालिटी १५ दिनअघिवाटै शुरु गरिसकेको बताएका छन्।

यस नयाँ मोडालिटीवाट श्रममा आधारित राहतमा राजीखुशीले नाम लेखाएका ८० जनाले काम पनि पाएको दाम पनि मिलेको वडा अध्यक्ष विष्टले भनेका छन्। महिनामा तीन दिन काम दिने र प्रति व्यक्ति दैनिक ७ सयको दरले नगदै राहत दिने गरेको बताउंदै श्रममा आधारित यस राहत कार्यले वडाको विकास तथा सरसफाईमा धेरै सहयोग पुग्न गएको ठहर वडा अध्यक्ष विष्टको रहेको छ।

पहिलो चरणमा दिइएको रासन राहत र दोश्रो चरणको निःशुल्क भोजन राहत भन्दा श्रममा आधारित राहत कार्यक्रम ज्यादै प्रभावकारी भएको पनि वडा अध्यक्ष विष्ट बताउंछन्। लकडाउनको ६१ दिनसम्म आइपुग्दा वडा नंबर ४ ले ६ हजार परिवारलाई राहत प्रदान गरिसकेको वडा कार्यालयको आँकडा रहेको छ।

विपन्न वर्ग तथा ज्यादा मजदुरहरुलाई मात्र दिदैआएको राहतलाई मध्यम वर्गको समस्यालाई पनि आत्मसात गर्दै मध्यम वर्गलाई पनि कसरी राहत दिने भन्ने अर्को मोडालिटी तयार गर्न र गराउन आफू जनप्रतिनिधिहरुले संवन्धित निकायमा घचघचाइरहेको जानकारी पनि वडा अध्यक्ष विष्टले दिएका छन्।

प्रकाशन मिति–२०७७ साल जेठ १० गते शनिवार ।