काठमाडौं। बेलायतमा कोरोना संक्रमणका कारण थप एकजना नेपालीको दुःखद निधन भएको छ। कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो।

समाजसेवी गुरुङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङका अनुसार, केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।

पर्वत चारभञ्याङमा जन्मेका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए। पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए। उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए। स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए। उनकीश्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन्। गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहेका थिए।
हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ।
(राससको समाचार सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख २३ गते मंगलवार ।