काठमाडौ। नेपालको वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदाय आदिकालदेखि नै समावेशी रहेको दावी गरेका छन्।

नेपाल राष्ट्रिय खड्गी समाजको दोश्रो राष्ट्रिय अधिवेशनको शनिवार काठमाडौंमा उद्घाटन गर्दै संस्कृतिविद् डा.जोशीले उपत्यकाका सांस्कृतिक गतिविधिमा नेवार समुदाय भित्रका जातजातिको उत्तिकै महत्वपूर्ण भूमिका रहेको उदाहरण दिंदै नेवार समाजमा कहिले पनि जातिय भेदभाव नरहेको जिकिर गरेका छन्।

कार्यक्रममा संस्कृतिविद् डा.जोशीले नेपालमा नेवार समुदायलाई चिनाउन खड्गी समुदायको योगदानको खुलेर प्रशंसा गरे। देशका विभिन्न चाड, जात्रापर्वको साथै कसैको मृत्यु पश्चातको अन्तिम यात्रामा समेत नाय्खिं बाजा बजाएर अन्तिम समयसम्म साथ दिने खड्गी समुदाय नेपालको संस्कृतिको पर्याय नै भएको जोशीको ठहर रहेको छ।

काठमाडौं महानगरपालिकाका उप–मेयर हरिप्रभा खड्गीले हरेक जातजातिको परम्परागत संस्कृति र मान्यताको संरक्षणको लागि काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। अधिवेशनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने खड्गी समाजका ८ जना व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा वातावरणीय विज्ञान विषयमा प्रथम श्रेणीमा उत्तीर्ण भइ ‘ख’ श्रेणीको नेपाल विद्याभूषण प्राप्त गर्न सफल आरती खड्गीलाई सम्मान गरिएको थियो। साथै दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्न योगदान पु¥याउने विनोद शाहीलाई पनि सम्मान प्रदान गरियो।

त्यसैगरी कार्यक्रममा विश्व शारिरीक सुगठनमा विभिन्न पदक जित्न सफल राजेश शाहीलाई पनि सम्मानित गरीयो । भारात्तोलन क्षेत्रमा सक्रिय भइ देशमा साथै विदेशमा समेत विभिन्न पदक जित्न सफल अशोक शाहीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। साथै, नेपाल यातायात व्यवसायी महासंघको पाँचौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बन्न सफल ऐनकुमार शाहीलाई पनि सम्मानित गरिएको थियो।

यातायात व्यवसायी महासंघको सोही महाधिवेशनबाट ३ नम्बर प्रदेशको उपप्रमुख पदमा निर्वाचित हुन सफल त्रिरत्न नेवा पनि सम्मानित बने। सोही कार्यक्रममा राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटका बैंगलोरबाट फिजियोथेरापीमा स्नातक र स्नातकोत्तर दुबैमा स्वर्ण पदक प्राप्त गर्न सफल रीमा शाहीलाई पनि सम्मानित गरिएको थियो।

नयाँ दिल्लीबाट चार्टर्ड अकाउन्टेन्ट डिग्री प्राप्त गर्न सफल श्वेता शाही पनि सोही कार्यक्रममा सम्मानित भइन्। सम्मानित सबैलाई संस्कृतिविद् डा. सत्यमोहन जोशीले सम्मान पत्र प्रदान गरेका थिएभने, समाजका अध्यक्ष मानबहादुर खड्गीले खादा ओढाएर सम्मान प्रदान गरेका थिए।

समाजको दोश्रो महाधिवेशनले मानबहादुर खड्गीलाई फेरि एकपटक समाजको अध्यक्ष चयन गरेको छ । अधिवेशनले खड्गीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा प्रदेश ३, काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा निर्वाचित जीवनराम श्रेष्ठ, प्रदेश सभा क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित राजेश शाक्यको साथै विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो।

प्रकाशन मिति–२०७४ साल फागुन २७ गते आइतवार ।