लमजुङ । लमजुङको उत्तरीभेग खुदीबेनी स्थित मर्स्याङ्दीको जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण भएको छ मर्स्याङ्दी गाउंपालिकाको अनुदान सहयोग तथा स्थानीय जनश्रमदानव्दारा नयाँ पुलको निर्माण भएको हो।

लमजुङ बेसीशहरवाट मनाङ जोड्ने बेस क्याम्पको रुपमा रहेको खुदीबेनी स्थित यो पुल विसं.१९९६ सालमा नै निर्माण भएको हो। पछि विसं.२०३० सालतिर मर्स्याङ्दी नदीमा आएको बाढीले वगाएको यो पुल पछि पूर्नरनिर्माण भएपछि जिर्णेव्दार तथा नयाँ निर्माण भएको थिएन।

कोरोना कहर वीच निर्माण भएको यो खुदीको इतिहास वोकेको पुलमा पुरानो बजार हुंदै पैदल यात्रा गर्न सहज भएको छ। नयाँ बजारमा नयाँ पक्की पुल बन्नुअघि खुदीबेनीका स्थानीयहरुको आवत–जावत गर्ने प्रमुख माध्यमको रुपमा रहेको यो पुलले धेरैलाई तारिदिएको छ। धेरैको जिन्दगीलाई उच्च स्थानमा पुर्याइदिएको छ।

पक्की पुल नहुदा मोटर नदीको बाटो भएर गुड्ने गरेकोमा बर्षा याममा नदी बढ्दा मोटर आवत–जावत गर्न नसकिने अवस्थामा यतिखेर पक्की पुलको कारण मनाङ पुग्नेहरुका लागि मोटरवाटो सरल बनेको छ। खुदीबेनीका शिक्षासेवी ऋषिराम श्रेष्ठका अनुसार, यता जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुल भएयता मर्स्याङ्दी गाउंपालिका वडा नंबर ३ पुरानो बजार बस्ने कुमानसिङ तामाङको चर्चा पनि चल्न थालेको छ।

जिर्ण काठेपुल निर्माण नहुंदा संवन्धित निकायले पनि बेवास्ता गरेको अवस्थामा समेत टालटुल गरेर चुपचाप मर्मत गर्ने श्रेय कुमानसिङ तामाङलाई नै जाने गरेको छ। जिर्ण पुलवाट यात्रा गर्दा कुनैपनि बेला दूर्घटना हुनसक्ने संभावनालाई दूर गर्न जतिबेला पनि आफूले जानको सक्दो टालटुल गरेर मर्मत गर्ने तथा रंगरोगन गर्न समेत लागिरहने कुमानसिङ जिर्ण काठेपुल नयाँ बन्दा अत्यन्त खुशी बनेका छन्।

जिर्ण पुलका कारण कति मानिसहरु डराएर पुल तर्न नै नमानिरहेको अवस्था तथा तरिहालेपनि जय बज्ररंङबली भनेर यात्रा गर्नुपर्ने अवस्थामा काठेपुलवाट फलामे तारजालीको नयाँ पुल बन्दा साह्रै खुशी लागेको कुमानसिङ वताउंछन्।

छुपारुष्तम समाजसेवीको रुपमा देखिएका कुमानसिंह नयाँ निर्माण भएको यो खुदीको झोलुङ्गे पुल निर्माण हुंदा पनि सक्दो काम गरेका कुमानसिङ निकट भविष्यमा पनि आवश्यकता अनुसार स्याहार सुसार गर्न कुनै कमी नगर्ने प्रतिवद्धता व्यक्त गर्ने कुमानसिङ जस्ता लुकिरहेका समाजसेवीका कारण विकास निर्माणमा अझ धेरै टेवा पुग्न गएको स्थानीयहरुको भनाई रहेको छ।प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।