काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा सवैभन्दा मारमा गीतकार पर्ने गरेको छ। गीतकार सर्जक भएको कारण उनीहरुको सिर्जनामा संगीतकारले संगीत सिर्जना गर्ने तथा त्यसमा गायक–गायिकाले स्वर भरेर एउटा गीतलाई ज्यान दिने गरिन्छ। यिनै गीतका सर्जक सिर्जनाकारको नाम सधैं छोपिने गरेको पाइन्छ।

कतिपय अवस्थामा गीत सर्वाधिक हिट बन्ने गर्दछ। त्यो हिट गीतका गायक–गायिका तथा संगीतकारसम्मको नाम आउने गर्दछ। उनीहरुलाई नै बढी चिन्ने गरेको हुन्छ। तर, अहोरात्र प्रयास गरेर आमाले सुत्केरी हुनअघि प्रसव पीडा सहेर बच्चा जन्माएजस्तै गरेर सिर्जना गर्ने सर्जक गीतकारका नाम खासै नलिइनु र उनीहरुको नाम नआउनु एक आमालाई पीडा भएजस्तै पीडा हुने गरेको तर्क अग्रज गीतकार प्रकाशदीप श्रेष्ठको रहेको छ।

नेपाली समसामयिक गीति लेखनको क्षेत्रमा चार दशक लामो इतिहास कायम गरिसकेका प्रकाशदीप गीतकारहरुको यो साझा पीडा नै भएको स्वीकार्छन्। इतिहासका अनेक कालखण्डमा गायक–गायिका र संगीतकारहरुकै मात्रा दबदबा हुने गरेको तर, गीतका सर्जक गीतकारहरुलाई छायाँमा पार्ने परम्परा हिजोका दिनमा भएजस्तो आजका दिनमा हुन दिन नहुने जिकिर गीतकार प्रकाशदीपको रहेको छ।

हालसम्म ३ सयभन्दा बढी गीतको सिर्जना गरिसकेका गीतकार प्रकाशदीपको वास्तविक नाम प्रकाशकुमार श्रेष्ठ हो। गीत लेखनमा लागेपछि गीतकारहरुलाई सधैं ओझेलमा पार्ने परम्परामा उज्यालो थप्ने दीप बन्ने माध्यमका रुपमा प्रकाशकुमार श्रेष्ठलाई छोट्याएर प्रकाशदीप मात्र लेख्ने कार्य उनीवाट भएको छ।

हस्त लेखनमा पनि अत्यन्त राम्रा अक्षरका धनी प्रकाशदीपका ३ सयभन्दा बढी गीतको सिर्जना गरेतापनि नेपालभाषा र नेपालीभाषामा गरेर हालसम्म १ सय १० वटा गीत मात्र रेकर्ड भएका छन्। ती सवै गीत नेपालका एक से एक गायक–गायिकाका गायन तथा संगीतकारका संगीतमा छन्। विसं.२०१४ साल माघ ९ गते काठमाडौंको खिचापोखरीमा पिता सुशीलकुमार श्रेष्ठ र माता छोरीदेवी श्रेष्ठको कोखवाट माइलो सन्तानका रुपमा जन्मेका गीतकार प्रकाशदीपको विसं.२०४६ साल फागुन ३० गते अनु अमात्य श्रेष्ठसंग विवाह भएको हो।

प्रकाशदीप र अनुको प्रेममय रमाइलो जीवनमा गायनको माध्यमवाट अनुले पनि प्रकाशदीपलाई साथ दिन थालेकी छन्। प्रकाशदीपकै शव्दमा अनुले पनि हालै मात्र दुई गीत गाएर गीत गायनमा प्रवेश गरेकी छन्। जुन अत्यन्त ठूलो सांगीतिक उपलव्धीको रुपमा आफूले लिएको प्रकाशदीपले वताएका छन्।
विसं.२०३८ सालवाट गीत लेखनको फांटमा उदाएका गीतकार प्रकाशदीपलाई गीतकार वनाएको नै रेडियो नेपालको फर्माइसमा बज्ने गीतहरुवाटै हो।

त्यो बेला न्यूरोडको खिचापोखरीमा पसल व्यवसाय गर्दैबसेका गीतकार प्रकाशदीपको पसल वस्दै रेडियो नेपालका फर्माइस गीत सुन्ने मोह नै थियो। फर्माइस गीतमा बज्ने स्वर सम्राट नारायण गोपाल, स्वर किन्नरी अरुणा लामा, स्वर सम्राज्ञी तारादेवी, भजन शिरोमणी भक्तराज आचार्य देखि दीप श्रेष्ठ, प्रकाश श्रेष्ठसम्मका त्यो बेलाका एक से एक हिट गायक–गायिकाका गीतहरु सुन्दै उनीहरुका ती गीतहरु हुबहु रेडियो सुन्दै कपीमा उतार गर्ने गर्दथे।

त्यसरी हुबहु कपीमा ती हिट गीतहरु उतार गर्दागर्दै गीत लेख्ने मोह बढ्ेको बताउने गीतकार प्रकाशदीपले त्यसपछि आफैले आफ्ना भावनाका यथार्थपरक मौलिक गीत लेख्न थाले। आफूले लेखेका गीतहरु वोकेर रेडियो नेपाल हरेक दिन धाउने तथा त्यहाँ त्यो बेलाका हिट गायक–गायिका तथा संगीतकारहरुसंग भेटघाट गर्ने अनि रेडियो नेपालको चमेना गृहमा चियाचमेना गरेर फर्कने दुई बर्षसम्म दिनचर्या नै बनेको थियो।

रेडियो नेपालको परिसरमा सुपरस्टार नायक भुवन केसी देखि हालका ख्यातिप्राप्त संगीतकार शंभुजीत बाँस्कोटासम्म भेटिन्थ्यो। सवैसंग कुराकानी हुन्थ्यो। सवैले गीत गाइदिने तथा संगीत राखिदिने आश्वासन दिने गर्दथ्यो। तर, कसैले काम भने गरिदिदैन्थ्यो। सोर्सफोर्स र नातावाद तथा कृपावादको बोलवाला भएको त्यो समयमा कुनै पावर नभएको प्रकाशदीपलाई सहज भने थिएन।

यद्यपि, प्रयास गर्न नछाडेका प्रकाशदीपको गीतलाई एक दिन रेडियो नेपालवाट पास भयो। विसं.२०४५ सालमा आएर रेडियो नेपालमा गायिका सपना परियार गायन तथा संगीतकार मदन परियारको संगीतमा रोपिसके आशाका फूल बोलको गीत पहिलो पल्ट रेकर्ड भएको थियो। त्यसरी जिन्दगीमा अपार संघर्ष र दुःखवाट रेकर्ड भएको पहिलो गीतको पारिश्रमिक रेडियो नेपालवाट नगद २ सय रुपैया दिदा २ करोड दिएजस्तो अनुभव प्रकाशदीपलाई भएको थियो।

त्यो रकम घर ल्याउन नपाउंदै रेडियो नेपालमा नै खुशियाली मनाउंदै चमेना गृहमा सवैलाई चियाचमेना गराउंदैमा सकेको त्यो अनुभव पनि प्रकाशदीपले सुनाएका छन्। त्यसपछिका दिनमा भने, आफ्नै व्यक्तिगत प्रयासवाट नेपालभाषा तथा नेपालीभाषामा रेडियो नेपाल तथा रेडियो नेपाल वाहिर पनि गीत रेकर्ड गराउंदै गीतकारको करियरलाई अगाडि बढाएका प्रकाशदीप गीत लेखनवाट व्यावसायिकता भन्दा आत्मसंतुष्टि मिल्ने गरेको सुनाउंछन्।

आत्मसंतुष्टि नै आफ्नो गीत लेखनको यथार्थता भएको बताउने गीतकार प्रकाशदीपका हिट गीतहरु चौबन्दी चोली, गोरी गोरी अलि काली काली, परदेशी दाजै लगायत दर्जनौ रहेका छन्। ती गीतहरु विभिन्न एल्बमहरुमा संग्रहित रहेका छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल असार २१ गते आइतवार ।