काठमाडौं। विगत ६ महिनादेखि कोरोना महामारीका कारण बन्द गरिएका दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि खुल्ने भएको छ। सोही दिनदेखि नियमित पढाई सुरु हुने भएको अन्नपूर्ण पोष्टको समाचार उल्लेख रहेको छ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको हो। जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेका अनुसार, दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभूत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत्र महिनादेखि देशमा लकडाउन लागू भएयता दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द भएका थिए।
प्रकाशन मिति–२०७७ साल भाद्र ३१ गते बुधवार ।