काठमाडौं। नेपालले आफ्नो नयाँ नक्सा जारी गरेदेखि नेपालको सन्दर्भमा भारतीय न्यूज च्यानलहरुले अनर्गल प्रचार–प्रसार गर्दैआएको छ। हदभन्दा वाहिर गएर विश्वमाझ नेपालको बदनाम गर्ने भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रसारण नै रोकेर उनीहरुको दादागिरीको अन्त्य गर्ने प्रयास भएको छ।

नेपालमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले स्वतःस्फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।

नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वतःस्फूर्त यस्तो निर्णय गरेको वताएका छन्। केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय नगरेको भएतापनि कम्पनीहरुले स्वतःस्फुर्त यो कदम चालेका हुन । भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको वताइएको छ।

म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि नेपालमा दुरदर्शन न्यूजबाहेक समय समाचार टेलिभिजन च्यानलको प्रसारण रोकिएको पुष्टि गरेका छन्। उनले भारतीय समाचार टेलिभिजन च्यानलले नेपालबारे अतिरञ्जित र भ्रामक समाचार प्रसारण गरिहेपछि यस्तो कदम चाल्नुपरेको वताएका छन्।

नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए। यस्तोमा भारतीय न्यूज च्यानल बन्द गर्न कम्पनीहरूमाथि दबाब परेको थियो।

सर्वसाधरणको चर्को दबाबपछि कम्पनीहरुले यो कदम उठाएका हुन्। नेपाल सरकारले एक वर्ष अघिदेखि नै क्लिन फिड लागु गर्न खोजिरहेको छ। क्लिन फिड लागु नगर्न पनि भारतले दबाब दिँदै आएको छ।

नेपालमा यसअघि नाकाबन्दीका समयमा पनि भारतीय च्यानल बन्द गरिएको थियो। भारतले नाकाबन्दी लगाएको एक सातापछि नेपालमा भारतीय च्यानल प्रसारण रोकिएको थियो।
प्रकाशन मिति–२०७७ साल असार २५ गते विहीवार ।