काठमाडौं। नेपालमा लडकडाउनको आज छैठौं दिनमा पनि लकडाउन उल्लङ्न गर्नेहरुको कमी भएन । मर्निङवाकको नाममा विहान सडकमा आउनेहरुलाई प्रहरीले कारवाही गरेर सचेतना अभियान चलाएका छन्।

त्यसरी लकडाउन उल्लङ्न गर्नेहरुलाई दुई घण्टा उभ्याएर कोरोनाभाइरसको संक्रमणको सचेतना प्रदान गरेर फर्काउन थालेका छन्। दुईघण्टा उभिएपछि त्यसरी लकडाउन उल्लङ्न गर्नेहरुले आफ्नैलागि यसरी प्रहरीले कडाई गरेको सही भएको भन्दै प्रहरीलाई धन्यवाद दिदैफर्कने गरेको प्रहरीले नै भन्न थालेको छ।

प्रहरीले सडकमा अत्यावश्यक बाहेकका सवारी साधनलाई कडाई गरेर उनीहरुलाई पनि नियन्त्रणमा लिने कार्य जारी राखेको छ। प्रहरीका अनुसार, आज विहानमात्रै काठमाडौंमा ६ सयजनालाई दुईघण्टा होल्ड गरेर सचेतना कक्षा दिइएको छ। पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो।

त्यतै फर्काउन थालेको हो। आज बिहानसम्म मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर सचेतना कक्षा दिएर फर्काएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भनेका छन्। सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर सचेतना गरेको प्रहरीले जनाएको छ।

आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको प्रहरीको भनाई छ। कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको आदेश जारी गरेको थियो। आदेश चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने छ।


प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।