काठमाडौं। नेपालवाट अष्ट्रेलिया जानका लागि हवाई टिकट बेसारे महंगो भएको छ। एकतर्फी हवाई भाडा मात्र कम्तिमा ११ लाख ९० हजारा यानी करिब नेपाली १२ लाख रुपैया तिर्नुपर्ने भएको छ।

नेपाली विद्यार्थीको विशेष रोजाइमा रहेको अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी जानुपर्ने भयो भने अहिले काठमाडौंबाट एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यो पनि साउनभर टिकट पाउन मुस्किल रहेको छ । यो हुनुको प्रमुख कारण अष्ट्रेलियाले लागू गरेको यात्रु आगमन कोटा प्रणालीले हो। काठमाडौंस्थित कतार एयरवेजका कर्मचारीका अनुसार, टिकट बुकिङ सिस्टममा सस्तो टिकट नै छैन । मध्य भदौसम्म पूरै प्याक भइसकेको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न अष्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको छ । त्यसमा पूर्वी एसियाली मुलुकका वायुसेवालाई सातामा कसैलाई एक, कसैलाई दुइटा मात्रै उडान अनुमति दिएको छ । त्यसमा पनि एउटा जहाजमा ३० जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन ।

महँगोमा टिकट किने पनि नेपाली विद्यार्थी वा पर्यटक भिसाबाहकले सजिलै अष्ट्रेलिया जान पाउँदैनन्, त्यहाँको नागरिक वा पीआरवाहक हुनुपर्छ । त्यसमाथि पनि यात्रु ४० घण्टामा मात्रै सिड्नी पुग्छन् । काठमाडौंबाट ४ घण्टा हाराहारीमा दोहा पुगेपछि त्यहाँ करिब २० घण्टा ट्रान्जिटमा बस्नुपर्छ । त्यहाँबाट १४ घण्टा लामो यात्रा गर्नुपर्छ । यतिका झन्झटपछि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

अष्ट्रेलिया जानैपर्ने भए एक मात्र विकल्पका रूपमा दोहा रुट खुला रहेको छ। छोटो र सस्तो रुटमध्येको मलेसियाको रुट अझै खुलेको छैन । चीन हुँदै ओहोरदोहोर हुने नेपाल–अष्ट्रेलिया रुट पनि पहिलो लकडाउनयता खुल्न सकेको छैन । नेपालीका लागि सस्तो र नजिक पर्ने रुट सिंगापुरको पनि हो ।

आइतबारयता सिंगापुर एयरलाइन्सले काठमाडौंमा सीधा उडान खुलाएको छ । सातामा एक दिन हुने उक्त उडानमा नेपालमा यात्रु ल्याउन खुला छ । तर सिंगापुर सरकारले काठमाडौंबाट यात्रु लैजान रोकेको छ । २० वर्षपछि पुनः नेपाल उडान थालेको सिंगापुर एयरलाइन्समा अहिले अष्ट्रेलिया, कोरिया, थाइल्यान्ड, चीनलगायत मुलुकमा कोरोनाका कारण अलपत्र नेपाली यात्रु फर्किरहेको सिंगापुर एयरलाइन्सका सेल्स म्यानेजर सुधीर पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमणका कारण अहिले नेपालबाट इस्तानबुल, दुबई, दोहा, दमाम, कुबेत, मस्कट, सारजाहाँ, आबुदाबी र मलेसियामा सीमित उडान भइरहेका छन् । नियमित उडान नभएका गन्तव्यमा भुटान, बैंकक, बंगलादेश, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु, सिचुवान, मुम्बई, बैंग्लोर, हङकङलगायत छन् ।

प्रकाशन मिति–२०७८ साल साउन ११ गते सोमवार ।