काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने कार्य भएको छ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएको भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना संक्रमणका कारण भीड नगर्न र नगराउन सरकारले आह्वान गरेको छ।

त्यसैगरेर, तराईतिर आजकै दिन रक्षा बन्धन पनि मनाउने प्रचलन रहेको छ। दाजुभाइ तथा दिदीबहिनीको पवित्र रिस्ताको रुपमा रक्षा बन्धन गर्ने गरिन्छ। दिदीबहिनीले दाजुभाइको आयु तथा आरोग्यताको कामना गरेर रक्षा बन्धन गरिदिने प्रचलन रहेको छ। भारत तथा नेपालको तराईवाट चलेको यो प्रचलन नेपालका प्राय स्थानमा गर्न थालिएको छ। नेवार समुदायले आजको दिनलाई गुनःपुन्हीको रुपमा क्वाँटी खाने पर्वका रुपमा मनाउने गरिन्छ।


प्रकाशन मिति–२०७७ साल साउन १९ गते सोमवार ।