पोखरा । पर्यटकिय नगरी पोखरामा पर्व सुधारसम्बन्धी छलफल गर्न विज्ञहरुको भेला भएको छ। शनिबारबाट सुरु भएको गोष्ठीमा गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्व सुधार आजको आवश्यकता भएको बताएका छन।

पर्व समय सुधार राष्ट्रिय समाज नेपाल र नेपाल निवृत शिक्षक समाजको संयुक्त आयोजनामा भएको दुई दिने विचार गोष्ठीमा मन्त्री लम्सालले पर्व समय सुधारको सवालमा विवाद गर्न नहुने भन्दै देशभर एउटै मत बनाउन गोष्ठीले सहयोग पुर्याउने बताए।

गोष्ठीमा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लले नेपाल बाहेक अरु देशले समयलाई सुधार गर्दै गएको बताउदै अक्टोबर क्रान्ती नोभेम्बरमा मनाइदै आएको उदाहरण दिए। कार्यक्रममा ज्योतिष विज्ञ तथा पञ्चाङ्ग निर्णायक समितीका सदस्य दैवज्ञ कृतिमदन जोशीले १५ बर्षदेखि यो अभियानमा लागेको बताउदै अहिलेको समयमा एक महिना सुधार गर्दै पञ्चाङ्ग पात्रो शुद्ध गर्न जरुरी भैसकेको उल्लेख गरे।
कार्यक्रममा खगोलविद जयन्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै नेपालको सन्दर्भमा करिव २४, २५ दिन फेरबदल हुनुपर्ने बताए। उनले समय विग्रदै गएकोले यसलाई सच्याउन ढिला भईसकेको बताए।

गोष्ठीमा पर्व समय सुधार राष्ट्रिय समाज नेपालका महासचिव कनकविक्रम जोशीले पर्व समय सुधार्ने अभियान सफल बनाएरै छाड्ने बताए । गोष्ठीमा नेपाल निवृत शिक्षक समाजका उपाध्यक्ष तोयनाथ लामिछानेले देशभर एउटै पात्रो चलाउने र एउटै थिती बसाल्नुपर्नेमा जोड दिए।

यसैगरी पोखराका समाजसेवी रविन्द्र मकाजुले समाजमा विचलन नआउने गरी पर्व समय सुधार्न जरुरी रहेको बताए। गोष्ठीमा पर्व सुधारका अभियन्ता हिरा अधिकारीले देशभर यो अभियान सुरु गरिएको बताउदै विस्तारै नागरिकमा चेतना बृद्धी हुँदै गएको बताए। गोष्ठीको सभापतित्व पर्व समय सुधार राष्ट्रिय समाज नेपालका कार्यवहाक अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए। गोष्ठीको सहजीकरण सुशीला नेपालले गरेकी थिईन।
प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।