काठमाडौं। टिकट काटेर नाटक हेर्ने जमात काठमाडौंमा पनि दिनानुदिन बृद्धि भैरहेको छ। अर्थात नाटक हेर्ने जमातको कुनै कमी भने देखिदैन। कलाकारहरुको जीवन्त प्रस्तुति आफ्नै सामुन्ने हेर्न पाउने नाटक एउटा जीवन दर्पण जस्तै बन्न थालेको छ।

यसक्रममा काठमाडौंको बत्तिसपुतली स्थित शिल्पी थियटरमा यही श्रावण १५ गतेदेखि मञ्चन हुंदैआएको प्रभावशाली नाटक बैजयन्ती प्रति दर्शकहरुको गजबको आकर्षण रहेको छ। साउन २७ गतेसम्म मञ्चन हुने यस नाटकमा विशेषत फरक क्षमता भएकी युवतीको कथालाई उत्थान गरेको छ। जोसंग अपाङ्गता भएको पीडा छ। दुःख छ। त्यो दुःख र पीडमा मल्हम लगाइदिने उनको प्यारी आमा पनि रहेकी छन्।

यिनै आमा–छोरीको आरोह–अवरोहको कथाले बुनेको बैजयन्तीमा समाजको बास्तविक चित्रण रहेको छ। मामाले अपाङ्गता भएकी भाञ्जीलाई समेत बलात्कार गर्न खोजेको प्रयास देखि अपाङ्गता भएकी छोरीलाई बोझ थान्ने वडा अध्यक्ष जस्तो बाउ आफै अपाङ्ग बन्दाको यथार्थताको पीडावोध पनि यस नाटकमा मज्जाले जस्ताको तस्तै देखाउने कार्य भएको छ।

समाजको सही चित्रण गर्न नाटक बैजयन्ती सफल भएको छ। जसमा मैना बन्ने फरक क्षमताकी युवतीको अभिनय गर्ने सौभाग्य सिंहको अभिनय बेजोड तथा जीवन्त रहेको छ। साथमा आमा बसुन्धरा बनेकी अग्रज अभिनेत्री मञ्जु श्रेष्ठको अभिनयमा गंभीरता तथा स्वभाविकताको श्रेष्ठता पाइएको छ। साथमा फिजियोथेरापिष्ट डाक्टर अनन्त बन्ने सुदीपजंग कार्की, तारा बन्ने चांदनी शाही, बाउ बन्ने वडा अध्यक्ष विजय नेपाल, पातकी मामा बन्ने हेमन तण्डुकार र ताराको साथी शमी बन्ने सञ्जु कार्कीको अभिनय पनि उत्कृष्ट रहेको छ।

आशान्त शर्माको परिकल्पना तथा निर्देशन रहेको यस नाटकका कथाकार सौभाग्य सिंह (शोभा) रहेकी छन्। निर्देशक शर्माले कथा अनुसार परिकल्पना गरेर नाटकलाई यथार्थवादी नाटक बनाउन ज्यादै मेहनत गरेको पाइएको छ। समय मिलाएर एक पटक सवैले हेर्नैपर्ने नाटक बैजयन्ती बनेको छ। सवै फूलहरुको माला बैजयन्ती नै भएको छ।


प्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।