Fishtail-Air-Crash-3काठमाडौ। गोरखाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा सोमबार दिउँसो ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनामा परी हेलिकोप्टरका चालक २५ वर्षीय रन्जन लिम्बु, १९ वर्षीया सुत्केरी प्रीति गुरुङ, उनको पाँच दिनको शिशु, ससुरा ६० वर्षीय किर्तमान गुरुङ, सासु ५६ वर्षीय सुपानी गुरुङको मृत्यु भएको हो। काठमाडौंबाट हेलिकोप्टर लिएर गोर्खा गएकी लक्ष्मी गुरुङ र गोर्खास्थित स्वास्थ्यचौकीमा कार्यरत् नर्स इटहरीकी निशा तामाङको पनि मृत्यु भएको छ। दुर्घटनाको खबर आएलगत्तै उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर र नुवाकोटबाट प्रहरी परिचालन गरिएको थियो ।

Fishtail-Air-Crash-1उद्धार टोलीले भीरपाखामा छरिएका शव संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याएको छ । शवहरु पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने पोस्टमार्टनपछि आफन्तलाई बुझाउने बताइएको छ। गोरखाबाट सोमबार दिउँसो १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएको फिस्टेल एअरले जनाएको छ। घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम बिदुरको मध्य भागमा रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन २४ गते सोमवार ।