काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने बताएका छन्।

तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाजगर्न पनि सम्बोधनमा भनिएको छ। राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको छ।

राजपत्रका अनुसार हुलाक,डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, बैंक, बीमा, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा अत्यावश्यक सेवा हुन्।

राजपत्रमा यी व्यवस्था भएपनि कोभिड १९ विरुद्ध सरकारले चालेका कदम र प्रधानमन्त्रीको संवोधन अनुसार राजपत्र भाग ५ का बुँदा नम्बर ३, ४ र १० मा भने यो प्रावधान लागु नहुने देखिन्छ। यी अत्यावश्यक सेवाहरु बन्द नहुने भएको छ।

प्रकाशन मिति-२०७६ साल चैत ७ गते शुक्रवार ।