काठमाडौं। सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउत मंगलवार ४ हजार रकम धरौटी राखेर रिहा भएकी छन्। फागुन १४ गते तारेकमा उपस्थित हुनुपर्ने सर्तनामामा गायिका राउत रिहा भएको नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले बताएका छन्।

नेपाल सांगीतिक संघका पदाधिकारीहरुको पहलवाट गायिका राउत रिहा भएको पनि संघले भनेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहालसंगको घनिभूत छलफल पश्चात गायिका राउतलाई रिहा गराउन आफूहरु सफल भएको पनि संघका अध्यक्ष मोक्तानको भनाई रहेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरवाट रिहा भएपछि मुस्कुराउंदै पिता हरिवहादुर राउतका साथमा गायिका राउत घर फर्केकी थिइन्। अघिल्लो दिन सोमवार प्रहरी हिरासतमा आत्मसमर्पण गरेर पुगेकी गायिका राउतलाई चार दिन थुनामा राख्ने प्रहरीले अनुमति पाएको थियो।

प्रहरी हिरासतमा चार दिन बस्नुपर्ने भएपछि एकाएक गायिका राउतको स्वास्थ्यमा गिरावट आएपछि सोमवार नै अस्पताल भर्ना गरिएको थियो। प्रहरीले हाइपर टेन्सनका कारण समस्या भएपछि सोमबार साँझ नै आस्थालाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल भर्ना गरिएको जानकारी दिएको थियो।

गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग आस्थाको भनाभन भएको थियो। एक कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि आस्थाले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्। आस्थाको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। 
प्रकाशन मिति–२०७६ साल माघ १४ गते मंगलवार ।