–निशान बुढाथोकी

काठमाडौं। साधारण जीवन शैली, उच्च विचारका धनी, सबैसंग समान व्यवहार गर्न सक्ने क्षमता अनि सकारात्मक सोचका धनी रविन्द्रनाथ कर्माचार्य अर्थात् रविन्द्र आशिष शैली । हुन त रविन्द्रनाथ कर्माचार्यको साहित्यिक नाम रविन्द्र आशिष शैली हो। हरेक मानिसहरुले उनलाई रविन्द्र आशिष नै भनेर चिन्ने गर्छन् ।

सरकारी जागिरबाट अवकाश यता साहित्यकार शैलीको अहिले साहित्यतिर नै धेरै समय बित्ने गरेको छ। दुईवटा पुस्तक प्रकाशन गरिसकेका शैलीले तीन वटा गीति एल्बम पनि बजारमा ल्याइसकेका छन्। साहित्यमा पनि विशेष गरी गीतमा नै रुचि भएको बताउने शैलीले यदाकदा कविता,गजल, मुक्तक पनि लेख्ने गरेका छन्।

साहित्य सिर्जनामा दिनरात समय बिताउन पाउँदा आफूमा नकारात्मक कुरा कहिले पनि मनमा नआएको स्वीकार्ने शैलीको लेखन यात्रा स्कुल लाइफदेखि नै हो। स्कुल लाइफमा बिजुली भन्ने पुस्तक लेखेको तर, ठ्याक्कै मिति त याद नआएको बताउने शैली जीवन त सुख दुःख, हाँसो रोदन अनि संघर्षको पाटो भन्छन्।

कसरी खुशी हुने ,कसरी आफूलाई व्यस्त बनाउने भन्ने कुरा सबै आफैमा भर पर्ने गरेको भनाई शैलीको छ। लेख्दै जाने क्रममा इन्टरमिडियट पढ्दा काभ्रेव्यापी प्रतियोगिता हुँदा जीवन सम्बन्धि कविता लेखेर आफूले दोश्रो स्थान हासिल गरेको क्षण सधै याद आउने गरेको पनि सम्झने गर्छन्।
कागजको टुक्रा
छिनमै त्यो भष्म हुन्छ
अध्यारोमा हिड्न सक
उज्यालो बाटो अनि देख्छ
यो कविता सधै याद आउने र यो कवितालाई आफूले कहिलेपनि विर्सन नसक्ने भन्छन्। जागिरे जीवनमा आफू बाहिर बाहिरै भएको कारण साहित्यमा त्यति धेरै समय दिन नसकेको बताउने शैली जब काठमाडौं आएपछि साहित्यको लागि समय दिन पाउँदा खुशीको सिमा नरहेको सुनाउंछन्। विसं.२०४२ सालमा आजको आकाश भनेर हामी पाँच जना कविहरु मिलेर संयुक्त कविता संग्रह प्रकाशन गरेको कुरा आज पनि मानसपटलमा याद आउने गरेको भन्छन्।

साहित्यकार शैलीले अगाडि बताए–त्यसो त विसं.२०६३ सालमा पनि हामीले दोश्रो कविता संग्रह प्रकाशन गरी यसलाई निरन्तरता दिइरह्यौं। आगामी २०७८÷०७९ पनि तेश्रो कविता संग्रह प्रकाशन गर्ने कामलाई निरन्तरता दिने विचार छ। अहिले गीतकार संघमा मलाई दश उत्कृष्ट गीतकारको रुपमा सेलेक्सनमा पारेको छ। उत्कृष्ट भएपनि सर्वोत्कृष्ट हुन इच्छा रहेको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असोज १६ गते शनिवार ।