महोतरीमा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन 

काठमाडौ । सीतापूर, भंगहा नगरपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय युवाहरू र चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालको संयुक्त आयोजनामा सीतापूर, भंगहा नगरपालिका, महोत्तरी जिल्लामा बृहत रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

बृहत रक्तदान तथा सम्मान कार्यक्रम भंगहा नगरपालिकाका नगरप्रमुख संजीव कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमका विशेष अतिथिमा चिकित्सा बिज्ञान प्रयोगशाला संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद कुमार यादव, नेस्वरस केन्द्रीय कार्य समितिका साथै धनुषा जिल्ला शाखाका अध्यक्ष शिव कुमार शाह, अतिथिमा स्थानीय समाजसेवी भरत यादव र नेपाली काँग्रेस तरूण दलका जिल्ला सभापति सुरेश यादवको उपस्थिति थियो।

विशेष रुपले आयोजना गरिएको बृहत् रक्तदान तथा सम्मान कार्यक्रममा नेपालका रेकर्डेट रक्तादाता साथै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई समाजसेवी भरत यादव, नेपाली काँग्रेस तरूण दलका महोत्तरी जिल्ला सभापति, ओम यादव, राजनारायण सिँह र भंगहा नगरपालिका वडा नं.४ का अध्यक्ष अशोक महतोले क्रमशः दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुका साथै भँगहा नगरपालिकाका प्रमुख सुरेश कुमार शाहले दोसल्ला र अभिनन्दन पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गरेको थियो।

नरेश कुमार शाहको सभापतित्वमा भएको उक्त कार्यक्रममा यसरी नेपाल स्वयंसेवी रक्तदाता समाजले भंगाहा नगरपालिकामा रक्तदान जस्तो पबित्र कार्यको शुभारम्भ गरेकोमा नेरेसो जनकपुर रक्तसंचार केन्द्रका प्रमुख नारायण न्यौपानेले प्रशंसा समेत गरेका थिए। नगरप्रमुखबाटै रक्तदान शुरु उद्घाटन गरिएको कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले स्वयंसेवीले स्वतस्फूर्त रक्तदान गरेका थिए।

सोही अवसरमा नरेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज महोत्तरी जिल्ला शाखा समेत गठन गरिएको छ। जसमा भरत यादव, नवीन मण्डल, ईन्द्रेश यादव, कमलेश सिंह, अवजीत यादव, सन्तोष शाह, सलिम राईन मियाँ, मुकेश यादव, सुरेश शाह र कृष्ण यादव रहेका छन्।

रक्तदाता संगठन विस्तारको क्रममा महोत्तरी जिल्ला शाखा नेपाल स्वयंसेवी रक्तदाता समाजको यो २४ जिल्ला शाखा हो।

प्रकाशन मिति–२०७५ साल असार २८ गते विहीवार ।