१–उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ। तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ।

२–लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ। खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरु मात्र होइन पर्यटकहरु पनि रमाइलो मान्छन् । लाखे नाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिंचा जोकरजस्तै भएर भेषवूशा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ । झ्यालिंचाचाहिँ दर्शकहरुको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।

३–काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजियाः लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघि अघि मजियाः लाखे नाच्दै हिँडने प्रचलन पनि छ । लाखे नाचमा प्रेम प्रसग पनि जोडिएको छ । यो किवन्दति हो सुन्दा र पढदा अपत्यारिलो पनि हुन सक्दछ । लाखे शब्द पनि यसै प्रसगमा जोडिएको छ । कुनै कालमा उपत्यकामा ज्यापु कृषक खेतमा काम गर्न जाँदा एक जना युवकले खेतीको काममा सहयोग गर्न आउदा रहेछन । खेतमा काम गर्दा खाजा खाने वेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाइ आफ्नो झोलाबाट ला (मासु), खेंय (अण्डा) निकालेर खाँदा रहेछन । यस्तोक्रम दैनिकी हुदो रहेछ । नेवार भाषामा मासुलाई ला र कुखुराको अण्डालाई खेंय भनिन्छ । ला र खेँय खाने भएर त्यसको नाम लाखेय रहन गएको इतिहास छ ।

४–कृषकको एउटी सुन्दरी छोरी रहेछ । आमा बाबु खेतमा काम गर्न नगई छोरीलाई मात्र पठाउँदा खेतमा कामको मेलो धेरै सर्दो रहेछ । लाखेंय आई खेतमा काम गर्दा गर्दै जाँदा लाखेंयसँग कृषकको छोरीको प्रेम बसेछ । समय बित्दै जाँदै गर्दा लाखेंय सित सम्बन्ध बढ्दै गएछ । टोलमा गाँईगुई चलेपछि टोलका मानिसहरुले केटीको बाबुलाई यो कुरा सुनाएछन् । राती चियो गर्दा लाखेंय आई छोरीसँग बसिरहेको बाबुले देखेछन । त्यसपछि चिकंमुगलका राजालाई लिएर आई लाखेंयलाई बाधेछन् । लाखेंयले आफ्नो यथार्थ कुरा सुनाएछ । मलाई बाँधेर नराख्नु होला । तपाईको छोरीले नदेख्ने डोरीले मलाई बाँधिसकेको छ । तपाईहरुले बाँधेको यो डोरीलाई मैले चँुडाल्न पनि सक्छु । तर तपाईको छोरीले बाँधेको डोरीलाई मैले चुँडाल्न सक्दिन। तपाईहरुले जे जे भन्नु हुन्छ त्यो मैले मान्छु भने पछि राजाले लाखेंयको जिम्मा लिएपछि लाखेंयलाई बन्धन पूmकाएर सबैको बीचमा राखेछन् । त्यसपछि राजालाई म तपाईसँग डराउँछु भनेर लाखेंयले भने छन् । लाखेंयको कुरा सुनेर राजाले किन मसँग डराउने भन्दा जस्ले माया गर्छ, उसँग डराउनु पर्छ भनि लाखेंयले भनेछ ।

५–त्यसो भए पहिले जस्तै यताउताका बच्चाबच्चीलाई टिप्दै खान पाउँदैनौ’ भनेर राजाले भने पछि लाखेंयले हुन्छ भनेछ । हामीले अह्राएको काम पनि गर्छौ? भनी सोध्दा त्यो पनि लाखेंयले हुन्छ भनेछ । त्यसो भए हामीले ताली बजाउँछौ तिमी नाच भनेपछि लाखेंय नाच्न थालेछ । त्यसपछि लाखेंयलाई वर्षको एउटा राँगो दिने गरी लाखेंयलाई घर ज्वाइँ बनाई राखे छन् । अनि टोलका बच्चाबच्चीको रखवारी र टोलको सुरक्षा गर्ने जिम्मेवारी लाखेंयको भएछ । लाखेंयको कार्यबाट प्रभावित भएर सबै टोलका मानिसहरु लाखेको प्रिय हुन गएछन् ।

६–त्यसबखत मजिपाटको नजिक मखन, इन्द्रचोक र त्यसको वरिपरि चण्डी र कुमार नामका दुई जना सवभक्कुहरु रहेछन् । तिनीहरुले टोलमा रहेको पोखरीमा पालिएको माछा खानुको साथै प्रत्येक दिन एक जना मानिस उनीहरुको अगाडि गएर मर्न तयार हुनु पर्दो रहेछ । समय बित्दै गयो। टोलका मानिसहरुको सख्या घटन थाल्यो । टोलका मानिसहरु सहयोगको लागि मजिपाटको लाखेंय कहा पुगे । टोल वासीका कुरा सुनेपछि लाखेंय एकै चोटि जोसमा आएर ल हिंड ! मलाई देखाई देओ भनी तिनीहरु सबैलाई साथमा लिई इन्द्रचोक तिर लागेछ ।

७–सवभक्कुलाई भेटे पछि मुक्का मुक्की भएछ । लाखेंयले भीमसेनको रुप धारण गरी तिनीहरुलाई विष्णुमती पारी हुत्याई दिएछन् । त्यहाँबाट सवभक्कु भागेर हलचोकको आकाश भैरवको शरणमा पुगेछन्। आकाश भैरवले सवभक्कुलाई बायाँ हातले च्यापेर दायाँ हातको खड्ग देखाएर तिनीहरुको संरक्षण गरेछन् । त्यसपछि पनि सवभक्कुलाई देख्ने वित्तिकै लाखेंयले हमला गर्न नछाडेको किंबदन्ती रहेको छ। काठमाडौंका कृषकका ज्वाई हुनुको नाताले लाखेले ससुरालीको सुरक्षा गरेको मित्थक यथार्थता येँया जात्रा अर्थात इन्द्रजात्रामा विशेष महत्व पाएको हो।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल भदौं २७ गते शुक्रवार ।