काठमाडौं। सुदुर पश्चिम नेपालको जाजरकोटमा विवाहमा अनौठो प्रचलन आएको छ। विवाहिता छोरी–ज्वाईलाई लाखौको नगद माला लगाइदिएर विदावारी गर्ने प्रचलन आएको हो। जसलेगर्दा विकृति तथा विसंगति आएको छ। धेरै खोक्रो आडम्बरमा ऋणमा पनि डुवेको पाइएको छ।

गएको बैशाखमा तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिएको बताएका छन्।
जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री परिवारको इज्जत र सम्मानको लागि छोरीज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिएको भन्छन्।

जाजरकोटमा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न गाउँबस्तीमा विवाह गरेर बिदाइ गर्ने बेला बेहुलाबेहुलीलाई नोटको माला लगाउने चलन बढ्दै गएको छ। कतिपयले भने देखाउनको लागि ऋण सापट गरेर धेरै पैसाको माला लगाइदिने प्रतिस्पर्धाले समाजमा विकृति निम्त्याएको छ।

दुबोको मालाको सट्टा माइती पक्षले छोरीज्वाइँलाई ४०–५० हजारदेखि चार–पाँच लाख रुपैयाँसम्मको माला लगाइदिने र दाइजोमा थप रकम बाकसमा दिने चलन छ। छोराले थातथलो अर्थात घरजग्गा प्राप्त गर्ने र छोरीको हकमा आउने सम्पत्तिको हिसाबले चार लाख नगद र पाँच तोला सुन दिने गरेको खत्रीले बीबीसीलाई बताएका छन्।

पछिल्लो समय जाजरकोट, कालिकोट, रुकुम, जुम्ला, सुर्खेत र सल्यान जिल्लाका गाउँबस्तीमा यो चलन बढ्दै गएपछि धेरैले चिन्ता व्यक्त गरेका छन्। यो चलनले समाजमा धनी र गरिबबीच विभेद पैदा गदै आर्थिक अवस्था कमजोर भएका वर्गको आत्मसम्मानमा चोट पुर्याउने उनीहरुको तर्क छ।


(बीबीसीको समाचार सहयोगमा।)
प्रकाशन मिति–२०७६ साल कात्तिक २६ गते मंगलवार ।