–संगीता श्रेष्ठ
एउटा समय थियो,
जुन समयमा
तिमीले रमाइलो गर्यौ
तर मैले प्रेम गरें,
तिमीले रमाइलो मानेका पलहरू
आज सायद बिर्सिसक्यौ होला
तर मैले गरेको प्रेम,
अझ गाढा भएर मनमा जीवित नै छ।

अन्तर यहाँनेर यति नै छ,
परिस्थितिले सृजना गरेको
अवसरको रूपमा प्रयोग गर्यौ तिमीले

तर मैले प्रेमको अनुभूति गरें
अनि तिमीलाई मनको मन्दिरमा प्रतिष्ठापन गरें।

यहाँनेर हार र जीतको सन्दर्भ आउन सक्छ,
लाग्यो होला मबाट सबथोक पाएर तिमीले जित्यौ भन्ने
तर अन्तर यही हो कि मैले सब थोक गुमाएर पनि जितेकै छु,
किनकि आज पनि प्रेममा पाएको
त्यो स्पर्शको मीठो अनुभूति मैले गरिरहेको छु,
मैले गरिरहेकै छु।


प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।