भक्तपुर। नेपाल सरकारले नेपाली युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको हो।

बर्तमान परिषद्को ऐनमा युवाको उमेर १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ। युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको छ। परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनि युवाको उमेर स्वतः ३५ वर्षमा झारिने भएको छ। अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा कुल जनसंख्याको ४०.३ प्रतिशत युवाको रहेको छ।

नेपालमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका भनिएकाले नेपालमा १८ वर्षदेखि माथिदेखि नै युवाका लागि प्रस्ताव गरिएको हो। १८ वर्ष पुगेकालाई मतदानको अधिकारसमेत दिइने गरिन्छ। अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर नेपालमा पनि ३५ वर्षसम्म बनाउन थालिएको हो।

अन्य देशमा पनि युवाको उमेरलाई ३५ वर्ष मान्ने गरिन्छ। संयुक्त राष्ट्रसंघले १५ देखि २९ वर्षसम्मका लागि युवा भनी परिभाषित गरेको छ। भारतमा भने १६ देखि ३२ वर्षलाई युवा भनी परिभाषित गरिएको छ।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।