वासिङ्टन। डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले संघीय न्यूनतम् ज्याला सन् २०२५ सम्ममा प्रतिघन्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ।


तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन ‘सिनेट’ले भने उक्त विधेयक पारित नगर्ने सम्भावना रहेको अन्तरराष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो।

विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए। यो विधेयक स्वीकृत भइ लागू भएमा न्यूनतम् ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम् ज्याला प्रतिघन्टा ७.२५ डलर रहेको छ।अमेरिकामा न्यूनतम् ज्याला सन् २००९ यता परिवर्तन भएको छैन्।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।